Kath khabar
गठबन्धनमा कुरा नमिलेपछि बालुवाटारबाट बाहिरिएर बालकोट पुगे प्रचण्ड

 

                              काठमाडौं, पुस १० ।  शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। विशेषगरी नयाँ सरकार गठनका विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीको पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीबीच कुरा मिल्न सकेको छैन। सुरुमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको माओवादीको अडानमा कांग्रेस सहमत नभएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ।

कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन।

गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो। प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

कांग्रेसले माओवादी केन्द्रलाई भागबण्डामा सहमति नगर्दा प्रचण्ड एमालेतर्फ नजिकिएका हुन्। एमाले र माओवादीको दोस्रो तहका नेताहरूका यसअघि नै प्रचण्ड र ओलीलाई एक ठाउँमा ल्याउने पक्ष थिए। कांग्रेससँग भागबण्डामा कुरा नमिलेपछि ओली प्रचण्ड थप नजिकिएका हुन्।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update