काठमाडौं, पुस १० । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अटोमोबाइल व्यवसायीहरूको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावना आदि विषयमा केन्द्रित रहेर यहि पौष ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्व अध्यक्षहरु समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भब्य रुपमा सम्पन्न भएको छ । सो भेलाले बैंकहरूको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको, जोखिम भार र एल सी मार्जिन लगायतका विषयहरूमा समेत छलफल गरेको थियो ।
उक्त कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले कार्यक्रममा व्यवसायीहरूलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे चर्चा गर्नु भएको थियो। सो कार्यक्रममा नाडाका १ न. प्रदेश अन्तर्गत रहेको मोरङ्ग अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेस प्रदेश अन्तर्गत रहेको जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेश अन्तर्गत रहेको चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटल, गण्डकी प्रदेश अन्तर्गत रहेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश अन्तर्गत रहेको लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेश अन्तर्गत रहेको कर्णाली अटोमोबाइल्स एशोसिएसन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूर पश्चिम प्रदेश अन्तर्गत रहेको सुदूर पश्चिम अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनका सम्बन्धमा आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
सो भेलाले दोश्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुवैलाई एकैसाथ अघी बढाउने निर्णय समेत गरेको छ । साथै व्यवसायीहरूले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेको छ ।
सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरुका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरूले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो । नाडाले मिति २०७९ मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा विषेश प्रस्तुती दिनु भएको थियो । त्यसैगरी उक्त कार्यक्रममा नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउँने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुती समेत दिनभएको थियो ।
सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापती सुनिल रिजालले व्यवसायीहरूले गर्र्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाचाँबारे जानकारी दिनुभएको थियो । सो कार्यक्रमको धन्यबाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गर्नु भएको थियो । सोहि दिन बसेको नाडाको १३ औँ कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औँ वार्षिक साधारण सभा २०७९ साल माघ २७ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।