गोरखा, काठमाडौं, पुस ११। कन्ट्रोल प्यानलमा प्राविधिक समस्या आएपछि मनकामना केबलकार बन्द भएको छ। विद्युत आपूर्तिमा समस्या आउँदा केबलकारको प्यानलमा ठूलो क्षति भएकाले सेवा बन्द गरिएको कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए।
उनका अनुसार मर्मतका लागि अष्ट्रियाबाटै प्राविधिक आउनुपर्छ।
"केबलकार निर्माता डोपलमेयरको प्राविधिक ल्याएर मर्मत गर्नुपर्ने देखिएको छ। हामीले पत्राचार गरिसकेका छौं," उनले भने, "हामी जतिसक्दो छिटो मर्मत गरेर सेवा संचालनमा ल्याउन लागिरहेका छौं।"
यो केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिएको थियो। केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछन्। स्तरोन्नति पछि मनकामना केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने दाबी गरिएको थियो।