Kath khabar
नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा


           काठमाडौं, पुस ११ । आइपिओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारण सभा आह्वान गरेको हो । साधारणसभा थापाथलीस्थित बिएलसीको सभा कक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिनुभयो।

साधारण सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ । घोषित कुल लाभांश मध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ । यी दुवै प्रस्तावलाई साधारण सभाले अनुमोदन गर्नेछ । हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण सभाबाट २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्ता पूँजी बढेर २७ करोड रुपैयाँको उचाइमा पुग्नेछ ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८–०७९ उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९–०८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने लगायतका एजेण्डामाथि साधारण सभामा छलफल हुनेछ ।


 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update