काठमाडौं, पुस ११ । नयाँ राजनीतिक परिवेशसँगै नेप्से उच्च अंकले बढेको छ । आज सोमबार नेप्से ५६ दशमलव ८८ अंकले बढेर १९ सय २४ दशमलव नौं अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३८ अंकले बढेर तीन सय ७५ दशमलव ४४ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ५० वटा कम्पनीहरूको ३८ हजार पाँच सय ५३ पटकको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब नौ करोड ७० लाख ४९ हजार नौ सय ४१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये अन्य समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक उच्च अंंकले बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल टेलिकम, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रो पावर नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक आदि परेका छन् ।