Kath khabar
कृषिक्षेत्रमा वास्तुशास्त्रको केही सैद्धान्तिक आधारहरू


                काठमाडौं, पुस १२ । प्रकृति नै वास्तु हो । वास्तुले सबै क्षेत्रमा ठूलो असर पारेको हुन्छ । त्यस्तै कृषिक्षेत्रमा पनि त्यतिकै असर पारेको पाइन्छ । त्यसैले कृषिक्षेत्रमा वास्तुले असर पार्ने सैद्धान्तिक आधारहरूलाई वास्तुशास्त्रको नियमअनुसार पालना गर्नु राम्रो मानिन्छ ।

वास्तु पञ्चतत्वमा आधारित हुन्छ । पञ्चतत्व भन्नाले आकाश, हावा, पानी, ताप र जमिन (पृथ्वी) हो । यिनीहरूसँग प्राणी, वनस्पति साथै सजीव र निर्जीव सबै वस्तुहरू वास्तुशास्त्रको सैद्धान्तिक आधार, चिन्तन, मननहरू वैदिक प्राचीन ग्रन्थहरूमा ऋषिमुनिहरूले उल्लेख गरेको पाइन्छ । त्यस्ता वास्तुशास्त्रको सैद्धान्तिक आधार, चिन्तन, मननहरूलाई हाम्रो देशको भौगोलिक अवस्था र जमिनको सतह साथै स्थानको आधारमा समावेश गरी नयाँ मोडेलमा स्थापित गर्ने आधार तयार गर्न सकिन्छ । यी पञ्चतत्वको आधारलाई अध्ययनको विशेष आधार बनाइ कृषिक्षेत्रमा वास्तुशास्त्रको सैद्धान्तिक नयाँ आधार प्रस्तुत गर्न सकिन्छ । जुन आधार हाम्रो भौगोलिक अवस्थालाई अनुकूल हुन जान्छ ।

आकाश - यो खुल्ला र खाली ठाउँ हो । जुन कुरा हामीलाई थाहा हुनु पर्छ कि एक बिरुवादेखि अर्को बिरुवासम्मको खाली ठाउँ र उसको बढ्ने उचाइसम्मको भाग भन्ने बुझ्नुपर्दछ । कुनै एक बिरुवा र वृक्षलाई आवश्यक खुल्ला ठाउँ साथै एकअर्काको सम्बन्ध र स्पर्शको आधारलाई अध्ययनको आधारमा प्रस्तुत गरिन्छ ।  

हावा - बाली बिरुवाको लागि आवश्यक पर्ने कार्बनडाइअक्साइड, अक्सिजन लगायत अरु हावाको उपस्थिति भन्ने बुझ्नुपर्दछ । त्यसैले कृषिक्षेत्रमा हावाले पार्ने असर बारेमा वास्तुको अध्ययन गर्न सकिन्छ ।

पानी - खेती गर्ने स्थानमा चाहिने पानीको स्रोत हो । मनसुन, झरी, नदी, कुलो, नहर, ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग, जरुवा, मूल आदि पानीको स्रोत हुन । यिनै पानीको स्रोतको आधारमा कृषिक्षेत्रमा वास्तुको अध्ययन गर्न सकिन्छ ।  

ताप -  सूर्य अथवा कुनैपनि तातो प्रकाशलाई ताप भनिन्छ । खेती गर्ने स्थलमा तापको प्रभाव र सूर्यको प्रकाश साथै मौसमको आधारमा वास्तुको अध्ययन गर्न सकिन्छ ।  

जमिन - विभिन्न किसिमको माटो र ढुङ्गा सहितको चिजलाई जमिन भनिएको छ । यसमा काल्ला, आली, बाँध, बाटो, समथर, पहाड, खोल्सा, बगर, भिरालो आदि पर्दछन् । यिनैको आधारमा कृषिक्षेत्रको वास्तुको अध्ययन गर्न सकिन्छ ।

कृषि, खेतीपातीको लागि अति प्रभाव पार्ने यिनै पञ्चतत्व भएकोले आकाश, हावा, पानी, ताप र जमिन (पृथ्वी)को तालमेल मौसम र माटोको सम्बन्धको बारेमा बुझ्नुपर्छ । आ-आफ्नो हिसाबले कृषिमा यी पाँचै तत्वको प्रमुख भूमिका देखिन्छ। त्यसैले कृषिक्षेत्रको ठाउँको जानकारी, खेतीपाती गर्ने समयको जानकारी, बिउ बीजनको जानकारी, मौसमको जानकारी, रोपाइँको गर्ने तरिका आदि कुराले कृषिमा वास्तुको अध्ययनको वातावरण बनाउन सकिने हुन्छ । जस्तैः

खाली ठाउँ, खुल्ला ठाउँ, बिरुवा बढ्ने ठाउँ र बिरुवा, बेर्नाको बीचको दूरीको आधारमा
वास्तुशास्त्रको प्रमुख स्थान भनेको खुल्ला ठाउँ, खाली ठाउँ हो । यसको प्रतिनिधित्व आकाशले गर्दछ । खेतीपातीको लागि र कृषिकार्यमा खाली ठाउँको अति महत्व हुन्छ । विशेष गरी कृषिकार्यमा  वास्तुशास्त्रीय ज्ञानको विशिष्ट प्रयोग भन्नु भनेको खाली, खुल्ला ठाउँ हो जसलाई पञ्चतत्व मध्यको आकाशतत्व नै हो ।

यसरी एक बिरुवा, बेर्ना अथवा रुख अरू बिरुवा वा बेर्नासम्मको खुल्ला ठाउँ, खाली ठाउँलाई आकाशतत्व भनिन्छ । यसर्थ बीउ, बेर्ना र बिरुवाले आफ्नो स्वतन्त्ररूपमा फक्रन र बढ्नका लागि उपयुक्त उचाइको खुल्ला ठाउँ, खाली ठाउँ भनेको आकाश नै हो । एक बेर्नाबाट अर्को बेर्नासम्मको दूरीमा रोप्ने बिरुवा, रूख, बोट, बेर्ना, बियाँ आदि जातिका आधारमा फरक फरक हुने गर्दछ । साधारणतया एक बोटको पात, हाँगा, छहारीले अर्को बोटलाई छोइरहदा सेप लाग्ने हुन्छ । सेपले गर्दा चाहेजस्तो फल लाग्दैन । तसर्थ कृषिकार्यमा आकाश तत्वको अति महत्व असिम भूमिका रहन्छ ।

हावाहुरी, बादल आदिको आधारमा
वास्तुशास्त्रको अर्को प्रमुख तत्व भनेको हावा हो । हावा, हुरी, बादल आदिको अवस्था र प्रकृतिले खेतीपाती, कृषिक्षेत्रमा अति प्रभाव पारेको हुन्छ । हावाको आवश्यक परिमाण प्राप्त भएन भने कृषिक्षेत्रको बाली उपयुक्त राम्रो उत्पादन हुँदैन । एक बिरुवा र अर्को बिरुवासँगको परागसेचन हावाको माध्यमबाट नै हुन्छ । भमरा, माहुरी, पुतली, चराको माध्यमबाट हुने परागसेचन भनेपनि प्रमुख भूमिका हावाकै हुन्छ ।

प्रकृतिमा रहेको सबै प्राणीहरूलाई हावाको जरूरी जति हुन्छ त्यति नै बाली, बिरुवा, रूख, बोट, बेर्ना आदिलाई हावाको  अति जरूरी हुन्छ । एक बोट देखि अर्को बोट सम्मको हावाको आगमन राम्रो भएन भने रोपेको बाली र बोट, बिरुवा राम्रो हुँदैन । तसर्थ आवश्यक दूरी कायम गरी बोट, बिरुवा र बेर्ना लगाउँनु पर्दछ । बोट, बिरुवा र बेर्नाले आफूलाई आवश्यक पर्ने खाना तयार गर्न ताप, सूर्यको आवश्यक पर्दछ भने राम्रो र स्वास्थ्य रहन हावाको जरुरत पर्दछ ।

जमिनको कुनै ठाउँ हुरी धेरै चल्ने हुन्छ । तीब्र हावा चल्ने ठाउँमा जमिनको माटोभित्र फल्ने फल अदुवा, बेसार, गाँजर, तरुल लगाउँदा राम्रो हुन्छ । अत्याधिक पानी पर्ने र हावा आउने ठाउँमा खेतीपाती, कृषिकार्यको काम गर्न राम्रो मानिदैन । तसर्थ जमिनको यस्तो ठाउँमा जडीबुटी, औषधीजन्य बोट, बिरुवा लगाउनु राम्रो मानिन्छ ।

मनसून, झरी, नदी, कुलो, नहर, ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग, जरुवा, मूल आदिको आधारमा
खेतीपाती, बालीनाली, कृषिकार्यको काम पञ्चतत्व मध्ये पानी अति आवश्यक तत्व हो । पानी त्यतिकै खेतबारीमा आउदैन । पानी खेतबारीसम्म आउने स्रोतको आवश्यक पर्दछ । पानीको स्रोत भन्नले मनसून, झरी, नदी, कुलो, नहर, ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग, जरुवा, मूल आदि हुन । पानीको स्रोत मूल खेतबारीको मध्यभागमा भएमा त्यो जमिनमा राम्रो उत्पादन हुँदैन् । जमिन वा खेतबारीको  उत्तर-पूर्व दिशा  (ईशान कोण)मा पानीको मूल, ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग भएमा राम्रो उत्पादन हुन्छ । पानीको स्रोत अनुसार खेतीपाती, बालीनाली, कृषिकार्यमा राम्रो नराम्रो असर वास्तुशास्त्रको प्रभाव बारेमा तल दिइन्छ । जस्तैः

  • खेतीपाती, बालीनाली, कृषिकार्यको जमिनको दक्षिण-पश्चिम दिशा तथा दक्षिण-पूर्व दिशामा पानीको स्रोतको नदी, कुलो, नहर, ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग, जरुवा, मूल आदि भएमा राम्रो उत्पादन हुनेछैन् ।
  • खेतीपाती, बालीनाली, कृषिकार्यको जमिनको दक्षिण भागमा नदी तथा ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग रहेमा धेरै दुःख र समस्या हुन्छ ।
  • खेतीपाती, बालीनाली, कृषिकार्यको जमिनको उत्तर भागमा नदी तथा ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग रहेमा राम्रो र प्रशस्त उत्पादन हुन्छ ।
  • खेतीपाती, बालीनाली, कृषिकार्य गर्ने जमिनको पूर्व दिशामा पानीको स्रोतको नदी, कुलो, नहर, ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग, जरुवा, मूल रहेको र दक्षिण अग्लो पूर्व तथा उत्तर भिरालो भएमा राम्रो उत्पादन हुन्छ ।
  • खेतीपाती, बालीनाली, कृषिकार्य गर्ने जमिनको पूर्व र पश्चिम दिशामा पानीको स्रोतको कुलो वा नहर रहेको र दक्षिण अग्लो पूर्व तथा उत्तर भिरालो भएमा सबैतर्फ राम्रो उत्पादन हुन्छ ।
  • खेतीपाती, बालीनाली, कृषिकार्य गर्ने जमिनको दक्षिण तर्फ भिरालो भएमा र नैऋृत्यकोणबाट पानीको स्रोतको कुलो वा नहरको आगमन छ भने मिहेनत गरे अनुसार राम्रो उत्पादन हुँदैन ।
  • समथर जमिनमा खेतीपाती, बालीनाली, कृषिकार्य गर्ने अवश्थामा ईशान कोण र वायव्य कोणमा पोखरी, ईनार, बोरिङ्ग भए राम्रो मानिन्छ । अरू ठाउँमा पानीको स्रोत बनाउनु हुँदैन् । कुनै तरिकाबाट पर्न आएमा रोग लाग्ने, खेती राम्रो नहुने र चरा, मुसा लगायत बाँदर लाग्ने हुन्छ ।
  • खेतीपाती, बालीनाली, कृषिकार्य गर्ने जमिनको आग्नेय कोणमा भिरालो भएको र जमिनको अन्तिम भागमा ठूलो नदी, कुलो, नहर, ताल, तलाउ, पोखरी, ईनार, बोरिङ्ग भएमा राम्रो फल र राम्रो उत्पादन हुँदैन । तर उत्पादन बढाउन जमिनको अन्तिम भागमा ठूलो रूख रोप्नु राम्रो हुन्छ ।
  • खेतीपाती, बालीनाली, कृषिकार्यको लागि मेशिन लगायत अन्य उपकरणहरू (बत्तिको उपकरण) आग्नेय कोणमा राख्नु पर्दछ । त्यस्तै यो ठाउँ खेतीबारीको लागि काम गर्ने मान्छेको लागि छाप्रो बनाउनु राम्रो मानिन्छ । कारणबस आग्नेय कोणमा राख्नु नमिलेको खण्डमा नैऋृत्यकोणमा बनाउन पनि सकिन्छ ।
  • खेतीपाती र कृषिकार्यको लागि आवश्यक र प्रयोग गर्नु पर्ने औजार र अरू सामग्रीहरू नैऋृत्यकोणमा राख्न सकिन्छ ।
  • खेतीपाती र कृषिकार्यको हेरचाह गर्ने व्यक्तिको लागि बस्ने ठाउँ, छाप्रो उत्तर तर्फ र ईशानकोणमा कहिले पनि बनाउनु हुँदैन।

सूर्य, ताप, प्रकाश, तातोपन, उज्यालो आदिको आधारमा
विभिन्न प्राणीको लागि जति सूर्य, ताप, प्रकाशको जरुरत रहन्छ त्यतिकै बोट, बिरुवा, बेर्नालाई प्रकृतिमा प्राप्त सूर्य, ताप, प्रकाशको अति आवश्यक पर्दछ । ताप र प्रकाशको प्रमुख स्रोत भनेको सूर्य हो । सूर्यको प्रकाशको सहयोगले बोट, बिरुवा, बेर्नाले आफ्नो लागि खाना बनाउने काम गर्दछ । बिरुवाको काण्डबाट लिएको आवश्यक तत्वहरूलाई आफ्नो पात पछि सूर्यको किरणको सहयोगबाट आफूलाई चाहिने खाना बनाउने काम गर्दछ । छायाँमा रहेको बोट, बिरुवा स्वास्थ्यकर हुदैन । तसर्थ सबै खेतीपाती र कृषिकार्यको व्यवसायको लागि सूर्य, ताप, प्रकाशको ज्यादै महत्व रहन्छ ।

  • खेतीपाती र कृषिकार्यको जमीन भिरालो र नदीको अवस्था हेरी मझौला र ठूलो बोट भएको रूख रोप्नु राम्रो हुन्छ ।
  • खेतीपाती र कृषिकार्यको जमीनमा पश्चिमतर्फ र पूर्वतर्फ बोट , रूख रोप्नु राम्रो हुन्छ । जहाँतही रूख रोप्नु राम्रो हुदैन ।
  • खेतीपाती र कृषिकार्यको जमीनको पूर्व तर्फ ठूलो पहाड र ठूलो जङ्गगल भएमा पश्चिम र उत्तरतर्फ जमीनमा राम्रो उत्पादन हुदैन ।
  •  खेतीपाती र कृषिकार्यको जमीनको दक्षिण तर्फ ठूलो पहाड र ठूलो जङ्गगल भएमा पश्चिम र उत्तरतर्फ जमीनमा राम्रो उत्पादन हुदैन ।

काँल्ला, आली, बाँध, बाटो, समथर, पहाड, खोल्सा, बगर, भिरालो आदिको आधारमा
खेतीपाती र कृषिकार्यको जमीनमा वास्तुको असर विभिन्न प्रकारले परेको पाइन्छ । केही खेतबारीको भिरालो उत्तर र दक्षिण रहेको खेतबारीमा पूर्व र पश्चिमको लम्बाई छोटो छ भने दक्षिणतर्फको आली ठूलो हुनुपर्दछ । उत्तर र दक्षिण चौडाइतर्फको आली दक्षिणतर्फको भन्दा उत्तरको आली आधा सानो हुनु पर्दछ । उत्तर र पूर्व भिरालो भएको ठाउँमा उत्तरतर्फ केही मोटो आली हुनु राम्रो हुन्छ । दक्षिण भिरालो भएको खेतबारीको काल्ला उत्तर सानो तर दक्षिण तर्फ ठूलो बढ्दै गएको हुन्छ । यो प्रकृया चारैदिशा तिर जता भिरालो छ त्यस्तै नियम लागू गर्न सकिन्छ । अब बाँध, बाटोका आधारमा खेतबारीमा वास्तुको केही असर स्वभावैले अनुमान गर्न सकिन्छ । जस्तैः

  • खेतीपाती र कृषिकार्यको जमीन समथर भए जमिनको बीच भागमा अनाज राम्रो उत्पादन हुदैन् । तर उत्पादन बढाउन पूर्व भन्दा पश्चिमको आली मोटो बनाएर उत्पादन बढाउन सकिलेछ ।
  • खेतीपाती र कृषिकार्यको जमीन बाटोको चौडाइबाट पनि वास्तुको केही असर परेको हुन्छ । खेतबारीको बीच भागबाट ठूलो बाटो उत्तर देखि दक्षिण गएको छ भने बाटोको किनारमा पूर्तर्फको कित्ताको जग्गामा भन्दा पश्चिम तर्फको जग्गामा बढी अन्न फल्ने हुन्छ ।
  • खेतीपाती र कृषिकार्यको जमीनको पूर्व पश्चिम बाटो भै दक्षिणतर्फ भिरालो रहेको छ भने उत्तर भन्दा दक्षिणतर्फ बढी अनाज फल्ने हुन्छ
  • खेतीपाती, बालीनाली, कृषिकार्य गर्ने जमीनको आग्नेय कोणमा भिरालो भएको र जमीनको अन्तिम भागमा ठूलो नदी, कुलो, नहर, ताल, तलाउ, पोखरी भएमा राम्रो फल र राम्रो उत्पादन हुदैन । तर उत्पादन बढाउन जमीनको अन्तिम भागमा ठूलो रूख रोप्नु राम्रो हुन्छ
  • खेतीपाती, बालीनाली, कृषिकार्य गर्ने जमीनको बीच भागमा अनाज उत्पादनमा कमी हुन गएमा सोही खेतबारीको त्यो ठाउँमा अग्लो टहरा बनाउनु उपयुक्त मानिन्छ ।
  • किसानले आफ्नो जमीनको समथर भागलाई सही तरिकाले मिलाउनु पर्दछ । समथर भएको जमीनमा भिरालो जमीनमा भन्दा अनाज राम्रो फल्ने र मिहेनत कम भए पनि राम्रो फाइदा हुन्छ ।         
  • खेतीपाती, बालीनाली, कृषिकायको जमीनमा दक्षिण भिरालो छ भने भिरालो सुरुको भागमा बोट, बिरुवा, फल, फूलको रूखहरू र वनजङ्गल छन् भने भिरालो टुँगिने भागमा पनि बोट, बिरुवा, फल, फूलको रूखहरू लगाउनु पर्दछ । यसो गर्नाले सोही जमीनबाट राम्रो उत्पादन गर्न सकिन्छ ।

मल, बेर्ना, बीज, उर्वरा, बल, समय आदिको आधारमा
खेतीपाती, बालीनाली, कृषिकार्य गर्नको लागि अकाश (खुल्ला ठाउँ), हावा (प्राण वायु), पानी (वर्षा, ओसिलो), ताप (सूर्या) र जमीन (बाली लगाउने ठाउँ) मात्र भएर पनि पुग्दैन् । मल, बेर्ना, बीज, उर्वरा, बल, समय आदिको अति महत्वपूर्ण स्थान रहन्छ ।

खेतीपाती, बालीनाली, कृषिकार्य जमीन, जग्गा, मल, जल छ तर बेर्ना, बीज राम्रो हुनुपर्दछ । यदि राम्रो बेर्ना , बीउ भएनन् भने कृषिकार्यमा किसानको मिहेनत, समय, श्रम र अन्य खर्च खेर जाने हुन्छ । तसर्थ पुष्ट, खँदिलो र स्वच्छ बिञाँ छनोट गरी संचित गरी बिउ राख्नु पर्छ । राम्रो बीउ, बीज भएनन् भने कृषि उत्पादनमा कमी आउछ । किसानको परिश्रम र समय त्यतिकै खेर जान्छ । खेतीपाती, बालीनालीको लागि मल, जल र बलको त्यतिकै आवश्यक रहन्छ । यी तीन चिज कृषिकार्य सहकार्यबाट उत्पादनको मात्रा र परिमाण बढाउन सकिन्छ । मानिसको भोक मेटाउने पहिलो चिज खाना नै माटोबाट उत्पादन भएको विभिन्न अनाज, अन्न हो । जसले मानव जगत लगायत अन्य प्राणीहरूको पेट भरेर भोक मेटाउछ । साच्चै भन्ने हो भने संसारको उत्पतिसँगै मनुष्य जगतसँगै कृषिकार्य सुरु भएको पाइन्छ । वेद मध्ये ऋग्वेद संसारकै सबै भन्दा पुरानो शास्त्रिय ग्रन्थ हो । यस ग्रन्थमा कृषिकार्यको राम्रो चर्चा र परिचर्चा गरेको पाइन्छ । प्राचीनका कालका प्रमुख अनाज “जौ” लाई मानिआएको छ । प्राचीन समयको प्रमुख किसान, कृषकको रूपमा इन्द्र, पूषा, अश्विनी आदिको उल्लेखिय भूमिका मानिन्छ । त्यस्तै यजुर्वेद, सामवेद, अथर्ववेद लगायत पुराणहरूमा पनि कृषिकार्य र अनाज साथै जडिबुट्टी आदिको पनि चर्चा गरेको पाइन्छ ।

खन्नु, जोत्नु, रोप्नु र पाकेको अनाजलाई काट्नु, चुुट्नु, माड्नु र दाई गर्नु आदि यो कृषिकार्यको प्रमुख कामहरू शतपथ ब्राह्मणमा राम्रोसँग बताएको छ ।

यस संसार जगतमा पहिलोपटक राजा बेनका छोरा पृथुले कृषिकार्यका कामहरू सुरु गरेको भन्ने शास्त्रमा उल्लेख पाइनछ । त्यसैले उनी नै कृषिकार्यको आविष्कारक हुन भन्ने धेरै शास्त्रमा लेखेको पनि पाइन्छ । त्यसैले पृथुको नामबाट यस भूमिको नाम पृथ्वी भनिएको अनुमान छ । परापूर्व कालमा खेतीको आधिपत्या राजाको हुने गर्दथ्यो । कृषिको काम गर्नलाई फिता, हात, डोरी आदिको प्रयोग गरी भाग लगाउने काम गर्दथ्यो । कृषिको काम गर्ने किसानबाट राजाले कर लिने काम गर्दथ्यो । खेतीपातीको मालिक पुरुष लगायत महिला पनि हुन सक्थे । । परापूर्व कालमा राजाले खेतीको काम गर्न लगाएको खण्डमा काम गर्ने व्यक्तिलाई कामको ज्याला वा तलब दिने गर्दथ्यो । त्यतिबेला खेतबारीको सम्बन्धमा किसानहरू बीच झैझगडा, विवाद हुने गर्दथ्यो । यो विषयमा किसान किसानको झैझगडा र विवादको सम्बन्धमा राजाले मेलमिलापको निर्णय गर्दथे ।

परापूर्व कालको शास्त्र ऋग्वेद, अथर्ववेद, यजुर्वेद आदि वैद्धिक वाङमयमा खेतबारीलाई उर्वरा, इरिण, शष्प्य भनी तीन भागमा छुट्याएको छ । राम्रो अनाज उत्पादन हुने  खेतबारीलाई उर्वरा भनिन्छ भने अनाज उत्पादन नहुने चिम्ट्याइलो  खेतबारीलाई इरिण भनिन्छ । घाँस, खर, झारपात र पशु चरनको ठाउँलाई शष्पय भूमि भन्ने गरिन्थ्यो । यसरी परापूर्व कालमा  खेतबारीको महत्व माथि प्रकाश पारेको पाइन्छ ।


 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update