काठमाडौं, पुस १२ । नेप्से एकै दिन ६० अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ५९ दशमलव ८७ अंकले बढेर १९ सय ८३ दशमलव ९५ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि १० दशमलव ६० अंकले बढेर तीन सय ८६ दशमलव पाँच अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरूको ६३ हजार ६७ पटकको कारोबारमा एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार नौ सय ९७ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिद्धार्थ इस्न्योरेन्स कम्पनी, मल्टिपर्पोज फाइनान्स, सिर्जनशील लघुवित्त वित्तीय संस्था, कालिका पावर लिमिटेड आदिको सेयर मूल्य बढेका छन् भने आँधीखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड आदिको सेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने लुम्बिनी विकास बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक, नेपाल टेलिकम आदि परेका छन् ।