Kath khabar
बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारम्भ



             काठमाडौं, पुस १३ । बैंक अफ काठमाण्डु लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरि खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क  मेसिन मार्फत जम्मा गर्नसकिने सेवाको शुभारम्भ गरेको छ । यस नयाँ सेवा मार्फत ग्राहकहरूले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यस सेवाको शुभारम्भ पश्चात् ग्राहक महानुभावले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ । ग्राहकहरूलाई सहज बैंकिङ्ग प्रदान गर्नुपर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यस सुविधामा ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएका ग्राहकहरुको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरू राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सक्ने छन् । उक्त चेक जम्मा भएपश्चात् ग्राहकहरुले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्ने छन् ।

बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ । कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहक महानुभावहरूलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ ।  

बैंकले हाल १०४ शाखा कार्यालयहरू, ९४ एटिएम र १० एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरूलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।


 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update