काठमाडौं, पुस १३ । सांगीतिक ब्यान्ड नेपथ्यले पोखरामा मंगलबार भव्य कन्सर्ट सम्पन्न गरेको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको मैदानमा भएको उक्त कन्सर्टमा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
मंसिर १६ गते विराटनगरबाट शुरु भएको ‘मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा’ एक महिना पूरा गरी पुस १६ गते सम्पन्न हुँदैछ। नेपथ्यले पुस १६ गते शनिवार मानव सेवा आश्रमकै आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रस्तुति दिँदैछ।
सङ्गीतमार्फत मानवता प्रवर्द्धन गरी सडकआश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने अभियान चलाइएको मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको टिकट र प्रायोजनबाट आउने रकम नितान्त रुपमा सडकआश्रित मानवहरुको व्यवस्थापनमा नै खर्च गरिनेछ ।
देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको मानव सेवा आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडक पेटिमा बेवारिसे मानिसहरु नरहने अवस्था निर्माण गर्ने योजनाका साथ काम गरिरहेको छ ।