Kath khabar
५६ अंकले बढ्यो नेप्से


                  काठमाडौं, पुस १४ । अघिल्लो दिन घटेको नेप्से आज बिहीबार उच्च अंकले बढेको छ । नेप्से आज ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव तीन अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि नौं दशमलव ९८ अंकले बढेर तीन सय ९१ दशमलव ३१ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरूको ४५ हजार नौ सय ४४ पटकको कारोबारमा ८० लाख २४ हजार पाँच सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ८६ करोड तीन लाख ४५ हजार सात सय ८१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्य आज हिमालयन ऊर्जा विकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने नेपाल बैंक ऋणपत्र २०८७, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक, नबिल बैंक आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update