बुटवल, पुस १४ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो।
सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।
उनलाई हिरासतमा लिनेर नलिने जिम्मेवारी अनुसन्धान अधिकृतसँग हुने पनि उनले बताए। ‘आजदेखि उहाँ निलम्बनमा पर्नुभयो। उहाँलाई हिरासतमा लिने र नलिने अनुसन्धान अधिकृतमा भर पर्छ,’ उनले भने।
यसमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अनुसन्धान गर्ने उनले बताए। ‘अनुसन्धान अस्ति नै देखि सुरू भइसकेको हो। निलम्बन गरेसँगै अब थप अनुसन्धान अघि बढ्छ,’ उनले भने।
प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएकै कारणले नियन्त्रणमा लिएको डिआइजी राईले बताए।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले निलम्बन गरेको पत्र आएपछि प्रहरी प्रधान कार्यालयले निर्देशन दिए हिरासतमा लिने बताए।
सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचना पछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो। उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा भएका केसी सोमबार रमाना लिएर जाने तयारीमा थिए। उनी करिब १३ महिनाअघि बुटवल आएका थिए।