Kath khabar
को हुन् ब्राजिलका महान फुटबलर पेले ?

             काठमाडौं, पुस १५ । ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । देशलाई कीर्तिमानी तीन विश्वकप जिताउने ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो। पेलेकी छोरीले एक इन्स्टाग्राम पोस्ट सेयर गरेर बुबाको मृत्युको जानकारी दिएकी हुन् ।  उनी पेटको क्यान्सर भएर केही समयदेखि अस्पतालमा जीवनसँग लड्दै आएका थिए । 

पेलेको वास्तविक नाम एडसन एरान्टेस डो नासिमेन्टो हो । उनी डिको, पेले र द ब्ल्याक पर्ल उपनामबाट परिचित छन्  । पेलेको जन्म २३ अक्टोबर १९४० मा ब्राजिलमा भएको थियो । पेले गरिबीमा हुर्केका थिए । उनका  बुबा आफैं पनि फुटबल खेल्थे, तर २५ वर्षको उमेरमा चोटका कारण उनको फुटबल करियर क्लब स्तरभन्दा अगाडि बढ्न सकेन, त्यसैले उनले छोरालाई फुटबलर बनाउने सपना देखे।

केहि समयपछि उनको परिवार मिनास गेराइसबाट साओ पाउलोको बउरु सहरमा बस्न आएको थियो। सानैदेखि पाएको तालिमका कारण सडकमा पेलेको विशेषताको चर्चा हुन थाल्यो तर स्रोतसाधनको अभाव थियो । पेले कहिले च्यातेका पुराना कपडाबाट बल बनाएर फुटबल खेल्थे भने कहिले छिमेकी स्टेशनबाट गायब भएको रेलका सामान बेचेर बलको पैसा उठाउने गर्थे ।

आर्थिक अभावका कारण उनले चिया पसलमा पनि काम गरे । पेलेको जन्म हुँदा उनको नाम एडिसन थियो । उनका परिवारका सदस्यहरूले पनि उनलाई मायाले डिको भन्ने गर्थे । उनलाई बाल्यकालदेखि नै फुटबलको लगाव थियो । उनका बुबाले ब्राजिलियन क्लब फ्लुमिनेन्सका लागि खेलेका थिए । तर, पैसाको अभावमा उनी सफाईकर्मी बन्नुपरेको थियो । पेले आफ्नो क्षेत्रमा रहेको स्थानीय क्लब भास्को द गामाका गोलकिपर बिलेलाई निकै मन पराउँथे । जब उनी स्कुलमा फुटबल खेल्थे, साथीहरूले उनलाई पेले भनेर बोलाउन थाले । त्यसपछि उनको नाम पेले राखिएको थियो ।

पेलेले १५ वर्षको उमेरमा सान्तोसबाट फुटबल खेल्न थालेका थिए । आफ्नो कडा मेहनतका कारण उनले १६ वर्षको उमेरमा ब्राजिलको राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । सन् १९५७ जुलाई ७ मा पेलेले अन्तर्राष्ट्रिय स्तरमा डेब्यु गरेका थिए । यो खेलमा पेलेले गोल गर्दै इतिहास रचे । उनी ब्राजिलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने । शताब्दीकै एथलिट चुनिए । पेलेको नाममा १३६३ खेलमा १२७९ गोल गर्ने कीर्तिमान छ ।

पेलेको उपस्थितिमा ब्राजिल टोली ३ पटक च्याम्पियन बनेको थियो । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सर्वाधिक पटक विश्वकप जित्ने कीर्तिमान पेलेलेको नाममा छ । खेलाडीको लागि आफ्नो करियरमा ३ पटक विश्व च्याम्पियन बन्न सजिलो छैन ।

पेलेले आफ्नो करियरमा जम्मा १३६३ खेलमा भाग लिएका छन् । उनले यी खेलमा कुल १२८३ गोल गरेका छन् । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको छ । उनले सन् १९५९ र १९६१ मा क्रमशः १२७ र ११० गोल गरेका थिए ।

पेलेको नाममा सबैभन्दा धेरै ह्याट्रिकको कीर्तिमान पनि छ । पेलेले आफ्नो करियरमा सबैभन्दा बढी ९२ ह्याट्रिक गरेका छन् । यो सूचीमा पेलेभन्दा पछि अरु धेरै खेलाडी छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ६० ह्याट्रिक गोल गरेका छन् । जबकि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले ५६ ह्याट्रिक गरेका छन् ।

उनको निधनमा ब्राजिलमा मात्र नभई विश्वभरका फुटबल जगत र सयौं समर्थकले शोक व्यक्त गरेका छन् । यस पुस्ताका तीन चर्चित फुटबलरहरू, अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेयमारले लिजेन्डलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update