काठमाडौं, पुस १५ । कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ। थाइल्याण्डको सिमानामा रहेको पोइपेट शहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा पर्दा अरु ७० जना घाइते भएको जनाइएको छ ।
भीषण आगलागीमा परी नेपालका झापा घर भएका ४० वर्षीय निराकार पाण्डेको पनि मृत्यु भएको छ । आगो लाग्दै गएपछि पाण्डेले क्यासिनोको १२ औं तलाको कोठाबाट हाम्फालेका थिए ।
निराकार पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । भिडियो कलमा अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको उनले बताएका थिए । परिवारले उनलाई उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले भिडियोमा आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए‚ ‘सानु, जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु ।’ उनले छोरालाई परिवारका सबै सदस्यलाई माया गर्न तथा राम्रो मान्छे बन्न भनेको कारुणिक दृश्य उक्त भिडियोमा देख्न सकिन्छ ।
परिवारसँग कुरा गरिसकेपछि पाण्डेले झ्यालबाट हामफालेको र उनको मृत्युको पुष्टि कम्बोडियामै रहेका उनका साथी सुरेन्द्र श्रेष्ठले गरेको परिवारजनले बताएका छन् ।
क्यासिनोमा लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो। होटलमा आगलागी बुधबार दिउँसो ४ः३० बजे भएको हो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए। सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका दर्दनाक दृश्यहरु देखिन्छन् ।
कम्बोडियाको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिका प्रवक्ताका रिपोर्ट अनुसार ग्रान्ड डायमण्ड सिटी क्यासिनो कम्प्लेक्समा ५०० कर्मचारीहरू छन्, र बुधवार त्यहा करीब १००० ग्राहकहरू थिए। आगलागी हुँदा कति जना उपस्थित थिए र कतिजना सुरक्षित स्थानमा भाग्न सफल भए भन्ने प्रष्ट हुन सकेको छैन ।