Kath khabar
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा


        काठमाडौं, पुस १५ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वार्षिक साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताउनुभयो । यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नतातेको उहाँले आरोप लगाउनुभयो ।

‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन ।’ तरलता अभावका बीच सहकारी संघ/संस्थाहरुले सदस्यहरुको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले भन्नुभयो, ‘अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशत भन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढ्यो । त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुपर्यो ।’

सोही अवसरमा रजिष्ट्रार पण्डितले केही प्राविधिक तथा बाध्यात्मक परिस्थितिले विभागले सहकारीको वास्तविक तथ्याङ्क राख्न नसकेको स्विकार्दै माघपछि वास्तविक तथ्यांक आउने गरी विभागले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी प्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक वित्तिय संस्थाको भएको बताउनुभयो । राज्यले लिएको नीति र बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सृजना भएको दाबी गर्नुभयो ।

यस्तै कार्यक्रममा सिजेएनका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले सहकारीले बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न नसक्नु तरलता अभावको क्षणिक समस्या नभएर बताउँदै पत्रकारहरुले सहकारी संघ/संस्थाहरुका अरु व्यथितिमा कलम चलाउनुपर्ने बताउनुभयो ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आफ्नो १२औं वार्षिक साधारणसभा मार्फत अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रयास श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्दै संस्थाको आगामी कार्य रणनीति तथा कार्यक्रमहरु समेत पारित गरेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update