पोखरा, पुस १७ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ।
पोखरा महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ । तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ। विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । मित्रराष्ट्र चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ ।
विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरु भएको हो ।
तथ्यांकअनुसार काठमाडौं आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।