Kath Khabar
पुस २६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने


                काठमाडौं, पुस १८। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ । २५ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्ने तय भइसकेको छ ।

प्रचण्डले पुस २६ गते विश्वासको मत लिन चाहेको भन्दै संघीय संसदलाई पत्र लेख्नुभएको हो । उक्त पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) वमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु ।’ 

प्रधानमन्त्री दाहालले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गर्नुभएको छ । ७ दलका १६६ र ३ जना स्वतन्त्र गरी १६९ जनाको समर्थन रहेको सरकारलाई प्रतिनिधि सभामा विश्वासको मत पाउन प्रचण्डले २७५ सदस्यमध्ये १३८ जनाको मत आफ्नो पक्षमा रहेको देखाउनुपर्ने छ।

प्रधानमन्त्री प्रचण्डले पुस ११ गते राष्ट्रपतिसमक्ष शपथ लिनुभएको थियो।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update