लन्डन, पुस १८ । एउटा अस्पतालमा भर्ना भएका हजारौं बिरामी ‘दुखद्’ सन्देश पाएपछि अत्तालिन थाले । यो सन्देशमा उनीहरू घातक फोक्सोको क्यान्सरबाट पीडित भएको बताइएको थियो ।
क्यान्सर भएको थाहा पाएपछि बिरामीको आँखाबाट आँसु आयो र आफन्तसँग जानकारी लिन थाले । तर, पछि सत्य बाहिर आएपछि सबैले राहतको सास फेरे । कुरा बेलायतको डोनकास्टरको हो ।
आस्कर्न मेडिकल प्राक्टिसले बिरामीहरूलाई क्रिसमस सन्देश पठाउनुपर्ने थियो तर गल्तीले मेडिकल स्टाफले क्यान्सर भएको लेखिएको सन्देश पठाएका थिए। पछि कर्मचारीले गल्ती सच्याएर क्रिसमसको शुभकामना दिए तर त्यतिन्जेल बिरामीमा त्रास फैलिसकेको थियो ।
अस्कर्न मेडिकलले क्रिसमसको सट्टा आफ्ना ८ हजार बिरामीहरूलाई क्यान्सर भएको सन्देश पठाएको बताइएको छ। यो सन्देशमा लेखिएको थियो - तपाईलाई घातक फोक्सोको क्यान्सर छ। मेसेजमा क्यान्सरको प्रकार लेख्दै बिरामीलाई मेडिकल फारम भर्न निर्देशन पनि दिइएको थियो ।
मेसेज आउने बित्तिकै बिरामीको अनुहार कालोनिलो भयो । धेरैले आफन्तलाई फोन गरेर जानकारी लिन थाले । अस्पतालमा अस्तव्यस्तताको माहोल थियो । त्यसपछि एक घण्टा पछि मात्र बिरामीहरूले अस्पतालबाट अर्को सन्देश प्राप्त गरे।
पहिलो सन्देशको लागि माफी मागिएको थियो । म्यासेजमा उनीहरूलाई क्रिसमसको शुभकामना पठाइरहेको बताइएको थियो तर भूलवश क्यान्सरको सन्देश पठाइयो । अस्पतालले आफ्नो सन्देशमा लेखेको छ - अघिल्लो सन्देशको लागि हार्दिक माफी चाहन्छौं। हामी तपाईंलाई मेरी क्रिसमस र नयाँ वर्षको शुभकामना दिन्छौं।
यो घटनाले बिरामीहरुमा त्रास फैलाएको थियो । ५७ वर्षीय बिरामी क्रिस रीडले भने, ‘मलाई क्यान्सर भएको सन्देश आयो जब म मेरो रिपोर्टको पर्खाइमा थिएँ । यो पढेपछि मलाई डर लाग्यो । म भित्रै आत्तिएर रुन थालें ।
अर्की बिरामी सारा हरग्रीभ्सले आफू पनि त्यसबेला क्यान्सर परीक्षणको नतिजा पर्खिरहेकी थिइन् र मेसेज पाएपछि पूर्ण रूपमा निराश भएको बताइन् । यस्तो संवेदनशील समाचार टेक्स्ट म्यासेजबाट आदानप्रदान भइरहेका छन् भन्ने कुरा पत्याउन नसकिने उनले बताइन् ।