Kath khabar
राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण सेवा अवरुद्ध


                                  काठमाडौं, पुस १९।  राहदानी विभागको सिस्टममा समस्या आएपछि बनेको राहदानी वितरण कार्य अवरुद्ध भएको छ ।

आइतबार देखि नै सिस्टममा समस्या आएपछि राहदानी आवेदनको अवस्था हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो । 

अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ । 

तर सिस्टमबाट नयाँ राहदानीका लागि आवेदन दिन भने सकिन्छ । विभागले राहदानीको आवेदनका लागि दिउँसो साढे ३ बजे अपोइन्टमेन्ट डेट बुकिङ खुला गर्दै आएको छ ।

यसअघि नै समय लिइसकेकाहरूलाई भने निर्धारित मिति र समयमा नै विभागमा बायोमेट्रिकका लागि उपस्थित हुन प्रवक्ता सापकोटाले अनुरोध गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update