Kath khabar
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला  

 

                       बुर्तिवाङ, पुस २० ।  बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार ३ वर्ष ६ महिना कैद फैसाला भएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषध सम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले ३ वर्ष ६ महिना कैद सहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

निसीखोला-६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा चरेस सम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा. भट्टको इजलासले घर्ती माथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता गरेको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । उनी स्थानिय तहको निर्वाचनमा नेपाली काँगेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update