काठमाडौं, पुस २० । काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएको छ।
मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो।
‘पहिले हुँदै आएको पार्किङ हटाएको हो,’ उनले भने, ‘आजदेखि ट्राफिक प्रहरीकै समन्वयमा पार्किङ हटाएका हौं। माथिबाट आएको आदेश पालना गरेका हौं।’
तर महानगरका एक अधिकारीका अनुसार यसबारे कुनै पनि लिखित निर्णय र आदेश जारी गरिएको छैन।
‘अहिले कस्तो हुन्छ भनी हटाएका मात्रै हौं,’ ती अधिकारीले भने, ‘स्थानीयको प्रतिक्रिया कस्तो आउँछ, अहिले त्यो हेर्ने क्रममा छौं। त्यहाँको व्यापारलाई असर नपर्ने भनी स्थानीयले सहयोग गरे कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ।’
ती अधिकारीका अनुसार अहिले यो प्रक्रिया परीक्षणकालीन अवस्थामा रहेकोले कुनै पनि आधिकारी सूचना जारी नगरिएको हो। अहिले मौखिक रूपमा छलफल गरी कार्यान्वयनमा प्रक्रिया अगाडि बढेको ती अधिकारी बताउँछन्।