Kath Khabar
भन्सार विभागका महानिर्देशकसँग सवारी साधनहरूको भन्सार जाँचपासका सम्बन्धमा छलफल



               काठमाडौंं, पुस २१ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटगरी नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँच पासका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

उक्त छलफलमा राजनबाबु श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोबाइल व्यवसायीहरू धराशायी हुने अवस्थामा पुगेको बताउदै बैंक लगायतका वित्तिय निकायहरूले लगाएको उच्च व्याज दर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पुर्‍याइएको, बैंकहरूबाट नीजि सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पुर्‍याइएको आदि विभिन्न कारणले बजारमा सवारी साधनहरू बिक्री हुन नसकेकोले सवारी साधन पैठारीकर्ताहरुले भन्सारमा आइपुगेका सवारी साधनहरूको भन्सार जाँच पास गर्न नसकेको बताउनु भयो। सो छलफलमा श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री समेत दुई तिहाईले घटेको जानकारी दिनुभयो ।

सो छलफलका क्रममा नाडाका पूर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासका लागि विभागले तोकेको सबै कागजातहरु पेश गर्दा पनि भन्सार जाँच पासमा कठिनाई उत्पन्न भईरहेको गुनासो गर्नुभयो । सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढ्न थालेकोले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर विलिङ्गलाई अनिवार्य गर्नु पर्ने धारणा राख्नु भयो ।

यसै क्रममा ट ह्वीलर समितिका सभापति अभिक ज्योतिले सोही उच्च व्याज दरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको जानकारी दिनुभयो । त्यसैगरी राजश्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी नभएका सवारी साधन पैठारीकर्ताहरुले सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी भएका कम्पनीहरूसँग मिलेर आफ्नो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरि दिन आग्रह गर्नुभयो ।

उक्त छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजश्व संकलनको दवाव परिरहेको बताउदै विभागले व्यवसायीहरूको मागलाई यथासम्भव सम्बोधन गर्नेछ भन्नुभयो । सोही क्रममा महानिर्देशक बुढाले नेपालका भन्सार नाकाहरूमा आइसकेका सवारी साधनहरूको यथासम्भव भन्सार जाँच पासका लागि आग्रह गर्दे नेपालका भन्सार नाकाहरुमा कुन कुन ब्राण्डका के कति सवारी साधनहरू छन् त्यसको तथ्याङ्क उपलब्ध गराई दिन समेत अनुरोध गर्नु भयो ।

उक्त छलफलमा भन्सार विभागका उपमहानिर्देशकद्धय डिलाराम पन्थी, यज्ञराज कोइराला, सुचना अधिकारी पुण्य विक्रम खड्का, निर्देशकद्धय रामप्रसाद रेग्मी, रामप्रसाद मैनाली र कृष्ण बस्नेत समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य बरदान बस्नेत समेतको उपस्थिति रहेको थियो ।  


 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update