काठमाडौं, पुस २१। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम नागरिकका विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनुभएको छ ।
आज बिहीवार मन्त्रिपरिषद्को बैठक पछि सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम नागरिकका विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनु भएको हो । उहाँले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्ने गरी कार्यक्रम आउने बताउनुभयो ।
सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगार सहित विभिन्न नीतिगत कार्यक्रम समेटिने उहाँको भनाइ छ ।
लामिछानेले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताउनुभयो । सरकारमा रहेका पार्टीहरू विचार र सिद्धान्त भन्दा पर गएर न्यूनतम साझा कार्यक्रम मार्फत अघि बढ्ने उहाँले जिकिर गर्नुभयो ।
उहाँले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मूल गर्ने विषयमा पनि सबै दल सहमत रहेको बताउनुभयो ।