काठमाडौं, पुस २२ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतले आज सुनुवाई गर्ने भएको छ ।
नागरिकता सम्बन्धि मुद्धा खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।
लामिछानेको सुरुमा अमेरिकी नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता स्वतः बदर भएको भएपनि पछि लामिछानेले नेपाल फर्केर दल दर्ता गर्दा र प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको भन्दै रिट दायर गरिएको थियो। अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।
उक्त रिटमा लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन समेत माग गरिएको छ । आज दुवै पक्षबीच छलफल गराइएको समेत बताइएको छ ।