Kath Khabar
यसरी गरियो "एकीकरण पदयात्रा" कार्यक्रम शुभारम्भ (फोटो सहित)


             काठमाडौं, पुस २२ । "३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९" विविध कार्यक्रमहरु सहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानको लागि प्रयोग भएका पदमार्ग गोरखा, धादिङ्ग, नुवाकोट हुँदै काठमाण्डौस्थित हनुमान ढोकासम्म सञ्चालन हुने "एकीकरण पदयात्रा" आज पौष २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

उक्त पदयात्रा कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनीहरुको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खट्टिएको टोलीको सहभागिता रहेको छ ।

श्री पश्चिम पृतनापति उपरथी दिपक कुमार बनियाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको उक्त पदयात्रा कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उप-प्रमुख, भिमसेनथापा गाउँपालिकाका अध्यक्ष, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं.३ बाहिनीपति, गोरखा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, अन्य कार्यालयका प्रमुखहरु, जनप्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, पत्रकार, सर्वसाधारण तथा सकलदर्जाहरुको उपस्थिती रहेको थियो ।

उक्त पदयात्रा टोलीले धादिङ्ग जिल्लामा तैनाथ फौजलाई, धादिङ्ग जिल्लामा तैनाथ फौजले नुवाकोट जिल्लामा तैनाथ फौजलाई, नुवाकोट जिल्लामा तैनाथ फौजले काठमाण्डौंस्थित नागार्जुनमा तैनाथ फौजलाई र नागार्जुनमा तैनाथ फौजले पौष २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजंग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । पदयात्रा कार्यक्रम जंगी अड्डालमा आयोजना हुने विशेष समारोहकाबीच समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update