काठमाडौं, पुस २३ । माननीय उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा उप-प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाई म्यान्डेट अनुसार काम गर्नुपर्ने बताउनुहुँदै विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङचुङगोला र छाङगरुको कठ्याङ्ग्रिदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउनुहुँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो- नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपूत तपाईँहरूलाई सलाम छ, मेरो कार्यकालभरि मात्र होईन जीवन कालभरी तपाईंले गरेको सलामको इज्जत राख्ने छु ।
जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउनुहुँदै उप-प्रधान तथा गृहमन्त्री लामिछानेले भन्नुभयो-‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्युटी वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।
उहाँले मनमा जहिले पनि हामी थोरै छौं तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसँग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्नेछौं, राम्रो गर्नेछौ, कानुन सम्मत गर्नेछौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्नेछौ र राष्ट्रका लागि गर्नेछौ भन्ने भावना लिएर अगाडि बढ्नु जरुरी रहेको बताउनुभयो ।
उप-प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोसा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शिर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताउनुभयो ।
उहाँले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरूको मन अमिलो भएको हुन सक्छ भने केही घमण्डको गुलियो र हिनतावोधको कारण एकै ठाँउमा कार्यगर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताउनुभयो ।
धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउनुहुँदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताउनुभयो ।
उहाँले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताउनुभयो ।