Kath khabar
राहदानी विभागको सर्भरको समस्या समाधान, राहदानी वितरण शुरु

 

                        काठमाडौं, पुस २४।  गएको एक हप्तादेखि राहदानी विभागको सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा शुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवार देखि समाधान भएसँगै राहदानी वितरण सेवा पनि शुरु भएको विभागका प्रवक्ता दुरपदा सापकोटाकाले जानकारी दिनुभयो । 

सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवार देखि 'स्मुथ' चलिराखेको छ, आज पनि हामीले कुनै समस्या 'फेस' गरेनौँ, राहदानी वितरण पनि अब शुरु भयो, यसबारेमा छिट्टै सूचना निकालेर जानकारी गराउछौँ ।’ विभागमा आएर सेवाग्रहीले बनिसकेको राहदानी लिइरहेका पनि उहाँले बताउनुभयो । 

विभागको सर्भरमा समस्या आउँदा 'बायोमेट्रिक' गरिसके पछि बनेका राहदानी वितरण रोकिएको थियो । तर नयाँ आवेदन भने विभागले लिइरहेको थियो । प्रवक्ता सापकोटा भन्नुहुन्छ, ‘राहदानी विभागको सर्भर नचलेर राहदानी वितरण ठप्प भएको भन्ने समाचारमा आंशिक मात्र सत्यता छ, नयाँ आवेदन लिएर हामीले बायोमेट्रिक गरिरहेका थियौँ ।’

राहदानी विभागले द्रुत सेवामा राहदानी प्रदान गर्छ । त्यो भनेको ३ दिनमा राहदानी दिनुपर्छ । ती ३ दिनमा राहदानी आएन भने सन्देश सहित नागरिक किन राहदानी आएन भनेर प्रश्न गर्न आउने हुँदा त्यसको जवाफ दिने आफ्नो दायित्व हुँदा मात्र विभागले सूचना निकालेको बताउनुहुन्छ सापकोटा । 

उहाँ भन्नुहुन्छ, ‘अरू सेवा नियमित छ भनेर हामीले सूचना निकालेका थियौँ । तपाईँले 'एप्वान्टमेन्ट' लिनुभएको छ भने बायोमेट्रिकका लागि आउन सक्नुहुन्छ भनेर 'क्लियर' भनेका थियौँ । तर बजारमा भने पासपोर्ट सेवा बन्द भन्ने 'न्यारेटिभ्स' बन्यो ।’

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update