काठमाडौं, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर देशलाई समृद्ध बनाउनु आफ्नो एकमात्र उद्देश्य रहेको बताउनु भएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फरक-फरक राजनीतिक दलबाट आएका भए पनि सबैको साझा प्रतिबद्धता देश निर्माण हुनुपर्ने बताउनुभयो ।
देश निर्माणको विषयमा फरक दल नभनी सबै एकै ठाउँमा उभिनुपर्ने प्रचण्डको भनाइ छ । ‘अब क्रिया प्रतिक्रिया नभइ काम गर्ने हो । समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोजेर अघि बढ्नुछ’, प्रचण्डले भन्नुभयो ।
उहाँले संसदमा नयाँ दल र सांसदको उपस्थितिमा आफूलाई ईर्ष्या नभइ मनैदेखि नै खुसी मिलेको बताउनुभयो । ‘नयाँ दल र नयाँ अनुहारको प्रवेश भएको छ । विना कुनै ईर्ष्या मनैदेखि भन्न चाहन्छु, यो लोकतन्त्र र सम्प्रभुताको जित हो । केही गर्ने आवेग र हुटहुटीलाई सम्मान गर्नुपर्छ । अबको संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ’, प्रचण्डले भन्नुभयो ।
उहाँले देशमा केही हुँदैन भन्ने भाष्यलाई बदलेर अब गरेमा के हुँदैन भन्ने सन्देश दिने आफ्नो प्रयास रहने बताउनुभयो । राष्ट्रिय एकता बलियो बनाउने र आर्थिक क्रान्तिमार्फत समृद्ध र न्यायपूर्ण राज्य निर्माण गर्ने आफ्नो प्रयासमा साथ दिन पनि प्रधानमन्त्री प्रचण्डले सबै दलसँग आग्रह गर्नुभयो ।
उहाँले संसदमा हुने अभ्यासलाई अब सबैले गौरव गर्ने गरी अघि बढाउनुपर्ने पनि बताउनुभयो । ‘संसद्का अभ्यासलाई नागरिकले गौरव गर्ने बनाउनुपर्छ । सहमतिमात्र होइन हाम्रा मतभेदहरू पनि मर्यादापूर्ण हुनेछन् । आफ्नो प्रयास यसैमा केन्द्रित हुनेछ’, उहाँले भन्नुभयो ।