Kath khabar
भ्रष्टाचारका विषयमा छानबिन गर्दा दबाब नदिनुहोला - गृहमन्त्री रवि लामिछाने

 

             काठमाडौं, पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले कुनै पनि भ्रष्टाचारको विषयमा भएको छानबिन र अनुसन्धानमा दबाब सिर्जना नगरिदिन आग्रह गर्नुभएको छ। आजबाट सुरु भएको  प्रतिनिधिसभाको पहिलो अधिवेशनमा बोल्दै लामिछानेले यस्तो आग्रह गर्नुभएको हो । 

उहाँले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने बताउनुभयो । उहाँले जनताले अपेक्षा गरेर आफूहरुलाई मत दिएको उल्लेख गर्दै जनमतअनुसार काम गर्न नसके चरम निराशमा मुलुक जाने भन्नुभएको छ।

उहाँले आफूले सम्हालेका मन्त्रालयमा केहि कामहरुको सुरुवात भैसकेको जसले आम जीवनलाई सकारात्मक प्रभाव पार्ने बताउनुभयो । लामिछानेले आफ्नो पार्टीका जनप्रतिनिधि कुनै पनि किसिमका अनियमित काण्डमा नमुछिने र कहिले पनि शिर झुकाउने काम नगर्ने दावी गर्दै भन्नुभयो, ‘कुनै पनि भ्रष्टाचार र अपराधका विषयमा छानबिन गर्दा प्रभाव पर्नेगरी आफ्नो मान्छे छुटाउने भन्दै दबाब सिर्जना नगरिदिनुहोला ।’

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update