काठमाडौं, पुस २५ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो ।
आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताउनुभयो । “यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौँ । तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौँ । योसँगै हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रुपमा एकीकृत गरेका छौँ”, ढकालले भन्नुभयो ।
मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उहाँको दाबी छ ।