काठमाडौं, पुस २६ । हिन्दु धर्ममा भगवानको आराधना, पूजा सत्कारमा फूलको विशेष स्थान रहन्छ । फूललाई पवित्रता, शुद्धता र प्रेमको प्रतीक पनि मानिन्छ । सृष्टिको अनुपम देन, सुन्दर र पवित्र रचना हो फूल । सुन्दर संसारमा अनेक खालका रङ्गीबिरङ्गी तथा फरक गुण भएका फूल पाइन्छन् । तीमध्ये एक फूल हो पारिजात ।
पारिजातक एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन् । दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन् ।
यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा मात्र मोहित भएका होइनन् देवी लक्ष्मीको पनि विशेष मन पर्ने फूल हो यो । किनभने यी दुवै समुद्र मन्थनको क्रममा जलबाट उत्पत्ति भएका मानिन्छन् । अर्को एक शास्त्रोक्ति अनुसार स्वर्गकी अप्सरा उर्वशीलाई मात्र पारिजात फूल छुने अधिकार दिइएको थियो र उनी यो फूललाई छोएर आफ्नो थकान मेटाउने गर्थिन् ।
यसर्थ यसको धार्मिक महìव के छ भने जसले यो फूल एकचोटि छुन्छ तब सारा थकान मेटिएर उसको शरीरले स्फूर्ति प्राप्त गर्छ । घरमा लगाउँदा मात्रै पनि यसले मानसिक तनाव कम गर्छ तथा घरमा भएका वास्तु, देव या पितृदोष नाश भएर जान्छन् । यसले अन्य नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा भरिदिन्छ भन्ने भनाइ छ । त्यसैले पारिजात घरमा रोप्नु अत्यन्त शुभ मानिन्छ ।
रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ ।
यस वनस्पतिको प्रजातीय नाम आर्वोट्रिस्टिसले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ । पारिजातको पूरा नाम ग्रीक भाषामा Nyctanthes Arbor-Tristis को अर्थ लगाउन थाल्यौँ भने ‘रातमा फुल्ने दुःखित वृक्ष’ भन्ने कुरा खुल्न आउँछ । अंग्रेजीमा यसलाई Coral Jasmine भनिन्छ, यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।
धार्मिक महत्व त आफ्नो ठाउँमा छँदैछ त्योबाहेक स्वास्थ्यका दृष्टिले पनि यो त्यत्तिकै बहुऔषधीय गुणले भरिपूर्ण छ ।यसको फूल, पात र बोक्रा तीनै भाग उत्तिकै उपयोगी छन् । यसमा एन्टिएलर्जिक, एन्टिभाइरल, एन्टिब्याक्टेरियल क्षमता हुन्छ । ज्वरो, औलो, डेङ्गुलगायत मुटुरोग, हाडजोर्नीको समस्या, छालासम्बन्धी रोग, खोकी, दम, दुःखाई र तनाव कम गर्न यसले औषधीय काम गर्छ भन्ने मान्यता रहिआएको छ ।
पारिजातको औषधीय गुणहरू :
यसको पातमा रहेको टेनिक एसिड, मिथायल सिलसिलेट, ग्लुकोसाइड र एन्टिअक्सिडेन्ट जस्ता तत्वले शरीरका कोषलाई बचाइराख्न, बुढ्यौली ढिलो गराउन, स्त्रीरोग र क्यान्सर रोकथामका लागि त्यत्तिकै लाभकारी हुन्छन् ।
महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, आऊँ, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ, दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ ,खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल-नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ र खाइन्छ ।
यसमा निक्टेथिक अम्ल, ग्लाइको साइड, पामिटिक अम्ल, स्टीयरीक अम्ल, एस्ट्रोगेलिन, निक्टो फ्लोरीन, एस्कोर्विक अम्ल, केरोटिन,टेनिन आदि धरै तत्वहरु पाइन्छन् ।उपयोग कृमिहन (पेटको किरा मार्ने) रक्तशोधक, मुक्तलक, यकृतविकार, श्वासप्रश्वास, कष्टार्तक, पित्तसारक, आमवातमा लाभकारी हुन्छ । हरीयो पत्ताको पकाएको रसलाई पिएमा लाभकारी हुन्छ ।
डाइविटिज नियन्त्रण, रक्तचाप घट्नुको साथै जोर्नी दुख्ने समस्या हराउँदछ । मृगौलालाई स्वस्थ राखि मजबुत बनाउदँछ । पेटको किरा मर्दछ । ज्वरो नियन्त्रण गर्दछ । एन्टिहिस्टामाइन तत्व पाइने हुनाले नियमित सात दिनसम्म पिउनाले एलर्जी हराउँदछ । साइटिका रोगको लागि त यो रामवाण औषधी मानिन्छ ।एन्टी अक्सिडेन्ट तत्व पाइने हुनाले एड्सका जिवाणुलाई बढ्न दिँदैन । यसको फुल ८ १० वटा पानिमा पकाएर सात दिनसम्म पिएमा जण्डीस जरैदेखि समाप्त हुन्छ । यसको पात, बोक्रा, बिउ र फुल सबै ओषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।
तसर्थ यति लाभकारी वनस्पतिका बारेमा जनमानसमा यसको महत्व बुझाइ जगेर्ना र वृक्षरोपणका लागि प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।