काठमाडौं, पुस २६ । विराटनगर सुपर किङ्ग्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो ।
विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर १ बलमा १ सय २८ रन बनाउँदा अलआउट भयो । जनकपुरका लागि विदेशी खेलाडी चाडविक वाल्टनले ५१ र ट्रेभन ग्रिफ्तले ३४ रन बनाए । विराटनगरका किओन जोसेफले ३ तथा नन्दन यादव र राज नन्नानले २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरका लागि गौरांशु शर्माले सर्वाधिक ४२, अर्जुन साउदले ३५, राज नन्नदले ३३ र होसाइन तलातले ३१ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए ।
जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।