Kath khabar
सन्दीप लामिछाने आज धरौटीमा छुट्दै

 

               काठमाडौं, पुस २९ । नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज धरौटीमा छुट्दैछन् ।

आज शुक्रबार उनी धरौटी रकम बुझाएपछि कागजी प्रक्रिया पुर्‍याएर थुनामुक्त हुनेछन्। पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले बिहिबार लामिछानेलाई सर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको बिहीबारको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। इजलासले पीडितको बकपत्र भइसकेको, त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, सन्दीपको मानसिक अवस्था राम्रो नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो। यद्यपि उनको मुद्धाको किनारा भने लागिसकेको छैन ।

इजलासको आदेशमा भनिएको छ, ‘‘यी प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न उपयुक्त नदेखिएकोले तहाँ अदालतबाट मिति २०७९/७/१८ मा भएको आदेशलाई बदर गरिएको छ।" मुद्दाको फैसला हुँदाका बखत ठहरिए बमोजिम हुनेगरी हालको अवस्थामा फौजदारी कार्यविधि संहिताको दफा ७२ मा उल्लिखित मापदण्डअनुसार २० लाख धरौटी लिएर लामिछानेलाई जेलबाट छाड्न आदेश भएको छ।

धरौटीमा रिहा भए पनि लामिछाने केही सर्तको अधीनमा बस्नुपर्ने उच्च अदालतको आदेश छ। जसमा उनले मुद्दाका विषयमा कुनै माध्यमबाट सार्वजनिक रूपमा बोल्न वा लेख्न पाउने छैनन् । तथा पीडितलाई डर, धम्की वा प्रलोभन दिने पीडित वा पीडितका आफन्तलाई भेट्न पाउने छैनन् । मुद्दाको फैसला नभएसम्म लामिछाने नेपालबाहिर जान पाउने छैनन् ।

इजलासले लामिछानेका नाममा जारी भएको राहदानी रोक्का गर्न लगाइएको आदेश कार्यान्वयन गर्न यथाशीघ्र नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा लेखी पठाउन आदेश गरेको छ । त्यस्तै उनले काठमाडौं उपत्यका छाड्न पनि प्रशासनको अनुमति लिनुपर्ने शर्तमा उल्लेख गरिएको छ ।

#सन्दीप लामिछाने

 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update