रुपन्देही, पुस २९ । रुपन्देही जिल्लाको बुटवल देखि पाल्पा जिल्लाको बसन्तपुर सम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुन देखि सन्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुन देखि सन्चालनमा आउने बताएका हुन् ।
"केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु," उनले भने । उनले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए ।
त्यस्तै टप स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको र बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको उनले बताए। साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए । यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पौष महिनामा सुरु भएको थियो।