काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पाँच महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४ दशमलव छ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपैंयाँमा सिमित भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३ दशमलव सात प्रतिशत र ३५ दशमलव नौं प्रतिशतले कमी आएपनि अन्य मुलुकतर्फको निर्यात सात दशमलव एक प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, अलैंची, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु आयात २० दशमलव सात प्रतिशतले कमी आइ छ खर्ब ६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९ दशमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० प्रतिशत, २२ दशमलव छ प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस् , एम.एस.विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८ दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब ९७ अर्ब ४४ करोड रुपैंयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४ दशमलव सात प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १० दशमलव एक प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५० अर्ब २० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९२ अर्ब ३४ करोड बराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।