Kath khabar
पोखरा विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

 

               काठमाडौं, माघ १ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको निधन भएको छ । युवापुस्तामाझ छाएका उनको आफ्नै ‘केसिक्स बिफोर’ नामक ब्याण्ड छ ।

विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पनि मृत्यु भएको छ । नेपाल पत्रकार महासंघले पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । जसअन्तर्गत सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने र १३ दिनसम्म शोक सभाबाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

विमानमा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक दम्पती अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकरको पनि दुर्घटनामा मृत्यु भएको छ। यस्तै दोहोरी गायिका निरा छन्त्यालको पनि मृत्यु भएको छ। उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि पोखरा गएकी थिइन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि माघ दुई गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिने निर्णय गरेको छ ।

यस्तै यति एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा भोलि सोमबार आपतकालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको छ ।

काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको एनवाईटी-६९१, ९-एएनसी  विमान पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा आइतबार बिहान दुर्घटना भएको हो ।

विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार रहेको खुल्न आएको छ ।

दुर्घटनास्थलमा हालसम्म ६९ जनाको शव फेला पारिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा विमानस्थलस्थित रेस्कूय एण्ड फायर फाङटिङबाट संयुक्त रूपमा खटिएको टोलीले हेलिकोप्टर सहितको सहयोगमा खोजी तथा उद्दार कार्य गरिरहेको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update