Kath khabar
प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, शपथ दिउँसो १ बजे

 

                             काठमाडौं, माघ ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ।नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ।

मंगलबार नेकपा (एमाले) का ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका हुन्।

एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री बन्न लागेका हुन् भने बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी छ। 

माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल  मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने भएका हुन्।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न लागेका छन् भने अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल "टिच फर नेपाल" का संस्थापक हुनुहुन्छ उँहाले लामो समय शिक्षा क्षेत्रमा काम गरिरहनु भएको छ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोल प्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ। अर्याल रास्वपाका उपसभापति पनि हुनुहुन्छ। धादिङ घर भएका उँहा समानुपातिक तर्फबाट सांसद हुनुभएको थियो।

पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा ३ जना उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, र रवि लामिछानेले सपथ लिएका थिए। 

उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री हुनुहुन्छ भने सोही दिन ज्वालाकुमारी साह,  दामोदर भण्डारी  राजेन्द्र कुमार राई र अब्दुल खान मन्त्री बन्नुभएको थियो। 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update