लमजुङ, माघ ३ । मध्यनेपाल नगरपालिका-८ डडुवा घर भई हाल मध्यनेपाल भोर्लेटार बस्ने, इशानेश्वर मावि मध्यनेपाल-६ मा अध्ययनरत १७ बर्षीय अविनाश गुरुङ बाली विज्ञान विषय लिई पढ्छन भने उनको रुचिको विषय चाहिँ विज्ञान-प्रविधि हो ।
सानै उमेरदेखि विज्ञान, प्रविधिमा रुचि राख्ने अविनाशले अहिले आफैँले ई-स्कटुर (विद्युतीय स्कुटर) बनाउनुभएको छ । आफैँले बनाएको स्कुटर चढेर उहाँ विद्यालय पुग्नुहुन्छ । यसैमा घर फर्कनुहुन्छ । उहाँले १ महिना लगाएर ई-स्कुटर बनाउनु भएको हो ।
अविनाशले यो स्कुटर चढेर विद्यालय आउजाउ गर्न थालेको ६ महिना पुगिसकेको छ । दिउँसो पढाइमा व्यस्त रहे पनि बिहान-बेलुकीको समय खर्चेर ई-स्कुटर निर्माण गरेको उहाँले बताउनुभयो । ‘विद्यार्थी मान्छे, पढ्नु त पर्यो नै, दिउँसो पढाइमा व्यस्त भइन्थ्यो, बिहान-बेलुकीको समय खर्चेर १ महिनाको समयमा स्कुटर तयार गरेको हो’, उहाँले भन्नुभयो ।
खर्च ५५ हजार रुपैयाँ :
ई-स्कुटर बनाउन ५५ हजार रुपैयाँ हाराहारीमा खर्च भएको उहाँले बतानुभयो । उहाँले यस स्कुटरमा २४ भोल्टको २ सय ५० वाट क्षमताको मोटर प्रयोग गर्नुभएको छ । ब्याट्रीबाट चल्ने यस स्कुटर ४ किलोमिटरसम्म गुड्ने उहाँले बताउनुभयो ।
‘बढी क्षमताको ब्याट्री प्रयोग गरेमा माइलेज पनि बढाउन सकिन्छ’, अविनाशले भन्नुभयो । ८० केजीसम्मको तौल धान्ने क्षमता यस स्कुटरको रहेको उहाँले बताउनुभयो ।
ई-स्कटुर नै बनाउने सोच मनमा कसरी पलायो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय विश्वमा डिजल, पेट्रोलबाट भन्दा इलेक्ट्रिकबाट चल्ने सवारी साधनको प्रयोग बढ्दो छ । यसका साथै वातवारणीय प्रदूषणलाई पनि कम गर्न सकिने र तुलनात्मक रूपमा धेरै मात्रामा २ पाङ्ग्रे सवारीको प्रयोग रहेकाले पनि मैले ई-स्कुटर बनाएको हो ।’
त्यसो त उहाँले यसअघि हाइड्रोलिक डोजर, रोबर्ट, रकेट, स्मार्ट डस्टबिन लगायतका सामग्री बनाइसक्नुभएको छ । आशबहादुर गुरुङ र उरमाया गुरुङका जेठा छोरा अविनाशलाई उहाँको रुचिमा परिवारको पनि सहयोग मिलेको छ । उहाँका भाइ अभिषेक गुरुङ त्यही विद्यालयमा कक्षा ८ मा पढ्नुहुन्छ ।
रुचि इन्जिनियरिङ तर्फ अनि पढाइ बाली विज्ञान । रहर एकातर्फ, पढाइ अर्कोतर्फ भएजस्तो लाग्दैन भन्ने जिज्ञासामा उहाँले मस्कुराउँदै भन्नुभयो, ‘सानैदेखि प्रविधिमा रुचि थियो । कक्षा ९ देखि नै बाली विज्ञान पढियो । यसमा पनि प्रविधि जोडिने भएकाले यसैमा लागियो । पढाइबाट ज्ञान लिने हो । बाली विज्ञानबाट पनि त्यो प्राप्ति हुन्छ । आफ्नो रुचिको काम त गर्न सकिने नै भयो ।’
उहाँको यस कार्य, प्रयासलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । ‘धेरैले राम्रो भन्नुहुन्छ । कतिपयले सहयोग पनि गर्नुहुन्छ । अझै धेरै चिज बनाउने योजना, सोच छ । यसका लागि पालिकाबाट सहयोगको अपेक्षा राख्दछु,’ उहाँले भन्नुभयो ।
प्रविधिमा धेरै रुचि रहनुमा उनीभित्र प्रतिभा रहेको इशानेश्वर माविमा भौतिकशास्त्र पढाउँदै आउनुभएका शिक्षक निर्मल अधिकारीले बताउनुभयो । प्रतिभाको कदर र संरक्षण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो । अविनाशको प्रतिभाको प्रस्फुटनका साथै उहाँको कार्यको प्रचारप्रसारमा विद्यालय जुटिरहको शिक्षक अधिकारीको भनाइ छ ।