Kath khabar
महासंघ प्रतिनिधिमण्डल र सहरी विकास मन्त्री विक्रम पाण्डेबीच भेटघाट,  क्रसर उद्योग संचालनमा देखिएको समस्या छिट्टै समाधान हुने मन्त्री पाण्डेको भनाइ 


                                काठमाडौं, माघ ५ ।  सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिनु भएको छ । निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवार विहानको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताउनुभयो ।

गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले बताउनुभयो । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गर्नुभयो । महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको अवरोधका कारण निर्माण कार्य प्राय ठप्प भएको जानकारी गराउनुभयो । निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुशी लागेको अध्यक्ष सिंहले बताउनुभयो । पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्टयाएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभयो । 

सोही अवसरमा अध्यक्ष सिंहले मन्त्री पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी पनि रहनु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update