1674467183.jpg)
काठमाडौं, माघ ९ । २२ औं सशस्त्र प्रहरी दिवस-२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमामा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ ।
विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
साथै अमर सशस्त्र प्रहरीहरूको पवित्र आत्माको चिरशान्तिको लागि अति आवश्यक पञ्चतत्वको परिपूर्ति गर्न सशस्त्र प्रहरी बल नेपालको इष्टदेवी बगलामुखी मन्दिरबाट अग्नि ल्याई स्मृति वाटिकामा अखण्ड ज्योतिको रुपमा बलिरहने व्यवस्था समेत मिलाइएको छ। संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै उहाँहरूको साथ र सहयोगको श्रृखंला भविष्यमा समेत जारी रहेन विश्वास व्यक्त गर्नुभयो ।
महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवकहरुले राज्यप्रदत्त कार्यादेशहरू पुरा गर्न पुर्याएको अथक प्रयासहरुको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सीमित श्रोतसाधनका बावजुद हिमालको कठ्याङ्ग्रिदो जाडोदेखि तराईको गर्मीसम्म आफ्नो ज्यानको प्रवाह नगरी विविध सुरक्षा चुनौतीहरूको सामना गरी देशमा आइपर्ने प्राकृतिक एवं कृतिम विपत्ति, राज्यको सीमा सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न र राजश्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न कार्यक्षेत्रमा पुर्याएको योगदानको सह्राना गर्नुभयो ।
व्यावसायिकता, इमान्दारिता र बफादारितालाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाई सङ्गठनलाई राज्यले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो ‘राष्ट्रसेवा हाम्रो धर्म हो, यो एउटा अनुपम, अद्वितीय र गौरवपूर्ण पेशा हो ।’ प्रत्येक कमाण्डरले आफू स्वयम् नैतिकरुपमा चरित्रवान् भई व्यावसायिकता र असल आचरणको नमुना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने विश्वास व्यक्त गर्नुहुँदै सकल दर्जाका राष्ट्रसेवकहरूले यही कुरालाई हृदयङ्गम गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले संगठनको विकास विस्तार एवं सकल दर्जाको सेवा, सुविधा एवं वृत्तिविकासको लागि सम्बन्धित निकायहरुसँग निरन्तर पहल गरिरहेको बताउनुहुँदै संगठनका राष्ट्रसेवकहरुलाई श्रोतसाधनको सिमितताको निहुँमा आफ्नो कर्तव्यबाट विमुख हुने छुट नरहेको उल्लेख गर्नुभयो। विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘वर्ष जवान-२०७९’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार दीर्घ नारायण पौडेललाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो ।
कदर पत्र प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रभातकालिन विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपाललाई अनुकरणीय सहयोग पुर्याउँदै आउनु भएका विभिन्न संघसंस्था तथा महानुभावहरुलाई उहाँहरुको सहयोगप्रति आभार प्रकट गर्दै कदरपत्र प्रदान गर्नुभएको छ ।
विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ का समयमा नेपाल ए.पी.एफ. अस्पतालबाट महामारी पीडित नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा दिलाउनका लागि महत्वपूर्ण सहयोग पुर्याउने विश्व स्वास्थ्य संगठनको कार्यालय नेपाल, पुल्चोक र अस्पतालको सेवालाई उत्कृष्ट बनाउन अनुकरणीय योगदान पुर्याउने जि.आई.जेड. नेपाल सानेपा, ललितपुरलाई कदर पत्र प्रदान गर्नुभयो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजना तथा सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा पोशाक, खेल सामाग्री लगायत विविध खेलकुद गतिविधिमा सहयोग पुर्याउने कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का प्रबन्ध निर्देशक उत्तम न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपालद्वारा निर्माण गरिने टेलिभिजन कार्यक्रम समर्पण राष्ट्रका लागिमा सहयोग पुर्याउने कृष्ण पाण्डे, फ्रेञ्च भाषामा अध्ययन अध्यापन गराउन समन्वयकारी भूमिका निर्वाह गर्नुहुने अलायन्स फ्रँसेका उपनिर्देशक प्रविण बिक्रम राणा र प्रशिक्षक मुकेश श्रेष्ठलाई महानिरीक्षक अर्यालले कदरपत्र प्रदान गर्नुभयो ।
प्रभातकालिन विशेष समारोहमा विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु शैलेन्द्र खनाल, पुष्पराम के.सी., अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा सकल दर्जाका ४३ जना राष्ट्रसेवकहरुलाई सेवाकालिन योगदानको उच्च कदर गर्दै आगामी दिनमा सुझाव र सहकार्यको अपेक्षाका साथ कदरपत्र प्रदान गरिएको छ ।
कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक स्व.निर्मल गुरुङ्गको स्मृतिमा सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतहरुद्वारा स्थापित २ लाख ५० हजार राशीको स्व.निर्मल गुरुङ्ग स्मृति अक्षयकोषबाट वहाँकी आमालाई २५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।