काठमाडौं, माघ ९ । नेप्से झण्डै १४ अंकले घटेको छ । नेप्से आज सोमबार एकैदिन १३ दशमलव ७१ अंकले घटेर २१ सय ६५ दशमलव १० अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव शून्य पाँच अंकले घटेर चार सय १३ दशमलव एक अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ६५ हजार एक सय ९४ पटकको कारोबारमा एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ८६ करोड ४० लाख आठ हजार नौ सय ७३ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक बढेपनि विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज कृषि विकास बैंक, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, कुमारी बैंक आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन हाइड्रोपावर लिमिटेड, स्वेत गंगा हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कुमारी बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक आदि परेका छन् ।