Kath khabar
नेत्रज्योति संघको निःशुल्क आँखा शिविर मार्फत तीन सय ५८ जनाले पाए नयाँ दृष्टि



              काठमाडौं, माघ १२ । कपिलवस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनालाई उज्यालो प्रदान गरिएको छ । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिविर मार्फत तीन सय ५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया  गरेको हो । कपिलवस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासंगको सहकार्यमा छुट्टा छुट्टै  शिविर सञ्चालन गरिएको  थियो  ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण  कोही पनि अन्धोपनमा जीवन बिताउन  नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरजंग अन्तरगत सञ्चालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा कपिलवस्तुका दुईवटा स्थानीय तहमा निशुल्क आँखा शिविर सम्पन्न भएका हुन् । माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो ।

त्यस्तै बुद्धभूमि नगरपालिकामा माघ ९ र १० गते सञ्चालित शिविरमा दुई सय दुई जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार दुई सय ९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए । घर आँगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी समेत व्यक्त गरेका थिए । ती शिविरहरूमा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर, आँखा रोग विशेषज्ञ डा. सुलक्ष्मी कटुवाल नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो ।

उक्त २ वटै शिविरमा गरेर सात सय २२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ । हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा दृष्टि दोष न्यूनिकरणका लागि उक्त चस्मा वितरण गरिएको हो । ४० वर्ष नाघेका लाई  कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।


 

 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update