Kath khabar

काठमाडौं, जेठ २३ । दुई वर्ष अघि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अनिवार्य रुपमा ऋणपत्र जारी गर्न निर्देशन दियो । शेयर बजारमा ऋणपत्रको हिस्सा अत्यन्त न्युन भएको र लामो समयको लागि कर्जाको लागि स्रोत जुटाउन बैंकहरुलाई समेत सहज हुने भएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको  थियो ।

२०७६ सालमा राष्ट्र बैंकले दुई वर्ष भित्र अर्थात २०७८ असारसम्ममा सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गर्याे । तर, गत वर्ष देखि सुरु भएको महामारीका कारण राष्ट्र बैंकले यसमा केहि लचकता अपनायो । र, थप एक वर्ष बढाएर २०७९ सम्म ऋणपत्र जारीगरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

अहिले बैंकहरुले प्रदान गर्ने कर्जाकोस्रोत भनेको १ देखि तीन वर्षेसम्मको मुद्दति निक्षेप मुख्य हो । साधारण बचत त जतिबेला पनि फिर्ता जान सक्ने भएकाले यसलाई दिगो स्रोतका रुपमा लिइदैन । लामो समयका मुद्दति निक्षेपका योजना बाहिर ल्याएपनि ति बिक्री हुन नसकेको स्वयम बैंकरहरु बताउँछन् ।

छोटो समयका यस्तो स्रोतहरुको आधारमा बैंकहरुले २० वर्षमा ऋण चुक्ता हुने गरिका सुरु भएका आयोजनामा लगानी गरेका हुन्छन् । यसले स्रोत व्यवस्थापनमा भोलिका दिनमा समस्या आउन सक्ने भन्दै त्यसका लागि पनि राष्ट्र बैंकले ऋणपत्र जारी गर्न भनेको थियो । तर, अहिलेसम्म ५ वटा बैंकहरुले ऋणपत्र जारी गरेका छैनन् ।

नेपाल राष्ट्र बैंकका अनुसार स्ट्याण्डर्ड चार्टड बैंकले अहिलेसम्म ऋणपत्र जारी गर्ने कुनै प्रक्रिया नै अघि बढाएको छैन । हुनत यो बैंकले अहिलेसम्म राष्ट्र बैंकका कैयन नीति तथा निर्देशन पालना गरेको छैन । सबै स्थानिय तहमा बैंकका साखा पुराउने नीतिमा असहयोग गर्ने यो बैंकले कृषि कर्जा प्रदान गर्न समेत उदासिन रहेको देखिन्छ । यसका साथै अहिले लामो समयसम्म ऋणका लागि स्रोत जोहो गर्न ऋणपत्र जारी गर्न समेत कुनै चासो देखाएको छैन ।

त्यस्तै अन्य बैंकमा सिभिल, सेञ्चुरी, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले यस्तो ऋणपत्र अहिलेसम्म जारी गरेका छैनन् । सेयर बजारमा ऋणपत्रको पनि कारोबार हुनुपर्छ । तर, नेपालको शेयरजारमा यसको हिस्सा अत्यन्त न्युन छ । दोस्रो बजारमा ऋणपत्रको हिस्सा बढाउने राष्ट्र बैंकले योजना बनाएपनि त्यो खास प्रभावकारी भएको छैन ।

चुक्ता पुँजीको २५ प्रतिशत बराबरको रकम जारी गर्ने म्याद अब १ वर्ष बाँकी छ । बैंकहरुको न्युनतम पनि ८ अर्ब बराबरको चुक्ता पुँजी छ । अझ मर्ज भएका बैंकहरु त दोब्बर भन्दा बढि छ । 

बैंकहरुले न्युनतम पनि ३ अर्ब बराबरको ऋणपत्र जारी गर्नुपर्ने देखिन्छ । एक वर्षमै यस्तो ऋणपत्र जारी गर्न र बिक्री गर्न कठिन हुन्छ । त्यसैले प्रत्येक वर्षमा बैंकहरुले ऋणपत्र बिक्री गर्दै जानु पथ्र्याे ।

बैंकहरुले एकै वर्षमा ठूलो मात्रामा ऋणपत्र बिक्री गर्न संभव छैन । त्यो राष्ट्र बैंकलाई पनि थाहा नै छ  । तर राष्ट्र बैंकले बैंकहरुलाई ऋणपत्र किन  जारी नगरेको भनेर अहिलेसम्म सोधपुछ समेत गर्न  सकेको छैन ।  

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update