काठमाडौं, माघ १२ । कुनै पनि विषयको काम गर्न त्यो विषयको ज्ञान, उपयुक्त अनुभव र दक्षताको खाँचो अनिवार्य हुने गर्दछ । सरकारी तथा गैरसरकारी संस्थानका विभागको प्रमुख हुनेले सामान्यतया स्नातकोत्तरसम्मको अध्ययन र कम्तिमा पन्ध्र बीस वर्षको अनुभव, बीस, तीसवटा सेमिनार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा सहभागी भएकै हुने गर्दछन् ।
यस्ता दसौं विभाग, हजारौं कर्मचारीहरूको अधीन भने सामान्य ज्ञान भएका राजनीतिज्ञहरूको मातहतमा रहने चलन हाम्रो देश नेपालमा छ । नेपालमा प्रजातन्त्र बहाली भएको ३२ वर्ष भइसक्यो, सयौँ व्यक्ति मन्त्री भए । मेयर, उपमेयर, अध्यक्ष भएका छन् तर न ती राजनीतिक दलले आफ्नो कार्यकर्तालाई त्यो दक्षताको कसीमा खरो उतार्ने सोचमा छन् न कोही स्वयं त्यसको तैयारी गर्ने गरेको पाइएको छ ।
हाम्रो मुलुकमा दक्षताको कसी भनेकै ती दलका अध्यक्ष, सभापतिको कसले निर्वाध चाकरी अनि चाप्लुसी गर्ने क्षमता वृद्धि गर्यो, को कसले कति निर्लज्ज भई आफ्नो स्वाभिमान नेताको पाउँमा राखिदिन सक्यो वा इमान खरिद गर्न सक्यो, उ नै सबैभन्दा योग्य व्यक्तिको रुपमा खडा हुन्छन् । साधारणतया निर्वाचन हुन्छ, विभिन्न व्यक्तिहरू निर्वाचित हुन्छन्, पदीय गरिमा अनुसारको प्रशिक्षणसम्म नगरी सिधै पदबहाली गरिन्छ र आफ्नो काम सुरु गर्ने गराउने हाम्रो मुलुकको चलन छ ।
धामी झाँक्रीहरू कुनै शक्तिको प्रभावमा हुन्छन्, उनीहरूको शिक्षादीक्षा पूर्ण गरेर मात्र बिरामीको उपचारमा संलग्न गराइन्छ । तर धामी झाँक्री जतिको प्रक्रियासम्म नमिलाई आफ्नो काममा प्रवेश गरेका ठूलाठूला पदका व्यक्तिहरूको हविगत हेर्दा नेपालको राजनीतिमा यस्तो दैविशक्ति रहेको झै गर्छन्, जसले सडकमा गुण्डागर्दी गरिरहेको व्यक्तिलाई विशिष्ट पदमा मनोनयन गरिदिन्छन् अनि ऊबाट मुलुक र समाजले के पाउन आशा राख्ने ? पदीय भागबन्डाको मेलोमेसो र फोहोरी राजनीतिको चरम पराकाष्ठाले जनताको भाग्य र भविष्यमाथि भद्दा मजाक उडाइन्छ ।
एकजना व्यक्ति, कुनै संस्थानको प्रमुख पदमा नियुक्त हुन्छ वा निर्वाचित भै सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति पदसम्मको नियुक्ति भै पद बहाली गर्नु अगावै प्रायले उनिहरुका आफन्त, नजिकैको व्यक्तिहरु भोलि चुनावमा प्रभाव पार्न सक्ने, सेटिङ गराउन सक्ने व्यक्तिलाई स्वकीय सचिव, सल्लाहकार जस्ता पदमा नियुक्त गर्ने गरेका छन् जबकी वास्तविक रुपमा बिषयगत राम्रो ज्ञान भएको विशेषज्ञ व्यक्तिको लागि भनी त्यो पदको सृजना गरिएको हुन्छ ।
भलिबल र फुटबलको स्टान्डर्ड तौलसम्मको ज्ञान नभएकाहरू त्यही संस्थाको अध्यक्षमा नियुक्ति पाउँछन् । मन्दिर, चर्च र मस्जिदको सार नबुझ्नेहरु त्यस्ता संस्थानको प्रमुखको नियुक्ति पाउछन्, ती भागबण्डा दिने दललाई अलिकति पनि यस्ता मानिसको नियुक्तिले भोलिको नतिजालाई कस्तो प्रभाव पार्छ भनेर हेक्का राख्दैनन् ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा मात्र दल भित्रका एक यस्ता नेता हुन् जसले आफ्नो लक्ष्य अनुरुपको प्रधानमन्त्रीको पदलाई आवश्यक पर्ने ज्ञान बटुलिरहेको जानकारी गराएका र प्रोजेक्ट गभर्मेन्टको तैयारी र अध्ययनमा व्यस्त हुने गरेको बताएका छन् ।
हरेक संस्थानको निर्देशक, अध्यक्ष, प्रदेश तथा जिल्ला जिल्लामा हुने आयोग, अस्पताल, खेलकुद, जि.स.स र प्राय सबै राजनीतिक नियुक्तिहरुमा अत्यन्तै असान्दर्भिक व्यक्तिहरूको पदासिन भईदिदा राज्यका सम्पुर्ण अंगहरु असक्षम हुनजाने भएकोले मुलुक र जनताको विकास र समृद्धिको उत्कण्ठा कुण्ठामै सिमित भइदिन्छ। एउटा निर्वाचनको पाँच वर्षे कार्यकालमा एउटै व्यक्ति दुईतीन वटा मन्त्रालयको मन्त्री र पटकैपिच्छे नयाँनयाँ मन्त्रालयमा पदासिन हुन पुगिरहेको देखिँदा राजनीतिक दल र पदमा आसिन व्यक्तिले आफ्नो स्वार्थभन्दा अर्को केही देख्न नसकेको कहालिलाग्दो दृश्य र अट्टाहसयुक्त कथा हाम्रो नेपालमा पढ्न सुन्न र देख्न पाइन्छ ।
एकजना व्यक्ति, कुनै संस्थानको प्रमुख पदमा नियुक्त हुन्छ वा निर्वाचित भै सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति पदसम्मको नियुक्ति भै पद बहाली गर्नु अगावै प्रायले उनिहरुका आफन्त, नजिकैको व्यक्तिहरु भोलि चुनावमा प्रभाव पार्न सक्ने, सेटिङ गराउन सक्ने व्यक्तिलाई स्वकीय सचिव, सल्लाहकार जस्ता पदमा नियुक्त गर्ने गरेका छन् जबकी वास्तविक रुपमा विषयगत राम्रो ज्ञान भएको विशेषज्ञ व्यक्तिको लागि भनी त्यो पदको सृजना गरिएको हुन्छ ।
यसरी पदको ओझ नबुझेको व्यक्ति आफ्नो व्यक्तिगत लावालस्कर सहित विभाग अनि मन्त्रालय प्रवेश गर्दा त्यस्ता व्यक्तिलाई कर्मचारीले नसुन्नु स्वभावतः ठिक हुनेछ । म कहाँ चुकेछु, मेरो क्षमता र कार्यशैलीमा कमिकमजोरी पो भयो कि भनेर नसोची कर्मचारीतन्त्र गतिलो छैन भनी उपहास गर्न सुरु गर्छन् । हेर्दा, सुन्दा अनि बुझ्दा झनै टिठ लाग्ने यस्तो परिदृष्यले समाज र मुलुकको सपनाको अभिभारा लिन सक्छ ? यदि सक्दैन भने हामी कहाँ कसरी चुकिरहेका छौ ? त्यो सच्याउन अब त्यही व्यक्तिको सम्बन्धित समाज र जिल्लावासीले सहज रुपमा यस्ता गल्ति सच्याउन सक्नेछन् । गहन विश्लेषण भई आ-आफ्नो ठाउँबाट यी विषयमा चर्को आवाज उठाउने बेला आईसकेको छ ।
तपाई अनि हामी सबैले यो बुझ्न जरुरी छ कि, सम्बन्धित पदको अधिकतम ज्ञान भएको नैतिकवान्, सक्षम व्यक्तिको जबसम्म चयन गर्ने गराईने संस्कारको विकास हुँदैन तबसम्म यो मुलुकको विकास र समृद्धि, 'मीठो परिकारको तस्वीर' जस्तै मात्र हुनेछ ।
✍️ ई. वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ्