Kath khabar
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज, कस्तो फैसला आउला ?

 

             काठमाडौं, माघ १३ । सर्वोच्च अदालतले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ गर्दैछ ।

यसअघि बुधबार उक्त मुद्दामा संवैधानिक इजलासमा बहस भएको थियो । थप बहस एवं सुनुवाईका लागि आजको पेसी तोकिएको छ । बुधबारको संवैधानिक इजलासले तत्काल लामिछानेको पद निलम्बन नसकिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

लामिछानेले विदेशी नागरिकता लिँदा र त्याग गर्दा नेपाली नागरिकताको सन्दर्भमा उचित प्रक्रिया पूरा गरे कि गरेनन् भन्ने बहसका क्रममा वकिलहरूले उठाएका छन् । गृहमन्त्री लामिछानेले निष्क्रिय भइसकेको पुरानो नागरिकता राखी पार्टी दर्ता गरेको, प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी निर्वाचित भएको भन्दै ती सबै प्रक्रिया र प्राप्त पद खारेज गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको थियो । दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ।

अब कस्तो फैसला आउला ?
गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइपछि विदेशी नागरिकता त्याग गरेको अवस्थामा स्वतः नेपाली नागरिक कायम रहने व्याख्यासहितको फैसला भएमा लामिछानेले निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरी अपराध गरेको भन्ने आरोप खण्डित हुनेछ । उनले दल दर्ता गरेकोदेखि सांसद र मन्त्री बनेको समेत विषयले वैधानिकता पाउनेछ । त्यसको नागरिकता निष्क्रिय भइसकेको भन्ने विवाद समाप्त हुनेछ ।

संवैधानिक इजलासबाट नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः खारेज हुने र पछि विदेशी मुलुकको नागरिकता त्याग गरेको अवस्थामा सो को निस्सा बुझाएपछि प्रक्रिया पूरा गरेर मात्रै नेपाली नागरिकता प्राप्त भएको मानिने व्याख्या गरेमा उनको सम्पूर्ण पद खारेज हुन सक्नेछ र पुनः नागरिकता प्राप्त गर्न प्रक्रियामा जानुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update