म्याग्दी, माघ १३ । म्याग्दीको कालीगण्डकी नदीमा ठूलाठूला ढुंगा छन्। कतिपय ढुंगा फोहोरले छोपिएका छन्। भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राख्न त्यही बाट २ वटा ठूला शिला (ढुंगा) पठाइँदैछ।
'हिजोसम्म फोहोर परेका ढुंगामाथि कति मान्छे चढे होलान्, कति फोहोर परे होलान्,' म्याग्दीका स्थानीय भन्दै थिए, 'आज त्यही ढुंगा भगवान राम बन्दैछ। पूजा गरेर भारत पठाइँदैछ।'
अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ। लरीमा फलामको साङ्लाले बाँधेर यी २ शिला म्याग्दीको गलेश्वरबाट भारततिर पठाइ सकिएको छ। म्याग्दीबाट बिहीबार शिला बोकेर गुडेका लरी साँझ पोखरा आइपुगेका छन्। कालीगण्डकी सभ्यता अभियन्ता डा. कुलराज चालिसेले यी २ ढुंगा शुक्रबार भरतपुर र शनिबार जनकपुर पुग्ने बताए।
लरीमा २ वटा ठूला ढुंगासँगै एउटा अर्को शिला पनि छ। त्यो भने जनकपुरको जानकी मन्दिरमा राखिने चालिसेले बताए। 'हामीले यी २ ठूला शिला पनि जानकी मन्दिरमा हस्तान्तरण गर्छौं,' चालिसेले भने, 'त्यहाँबाट गोरखपुर हुँदै अयोध्या लगिन्छ।'
उनका अनुसार २ शिलामध्ये एउटा कुँदेर रामको बालस्वरूप 'रामलला' बनाइनेछ। रामललाको मूर्ति कमलको फूलमाथि बसेको हुनेछ। अर्को शिलाबाट मन्दिरमा अन्य मूर्ति बनाइनेछ। 'शिलाको एउटा टुक्रा पनि खेर जाँदैन, सबै प्रयोगमा आउँछ,' उनले भने।
यी २ ढुंगा भारत लैजान कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय गरेको बेनीका मेयर सुरत केसीले बताए। संघीय सरकार र गण्डकी प्रदेश सरकारले पनि निर्णय गरेको उनले बताए। यसको सहजीकरण भने कांग्रेस नेता बिमलेन्द्र निधिले गरेका थिए।
मेयर केसीका अनुसार नेता निधि, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उक्त ढुंगा निकाल्न पुगेका थिए। क्रेन लगाएर ढुंगा निकाल्नुअघि पुस २६ गते प्रदेश प्रमुख गुरुङले क्षमापूजा गरेको मेयर केसीले बताए।
'राम मन्दिर निर्माण समितिले रामलला बनाउन हाम्रो पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग कालीगण्डकीको शिला लैजान पाए हुन्थ्यो भनेका रहेछन्,' केसीले भने, 'उहाँले संघीय सरकार, प्रदेश सरकार र यहाँ आएर सहजीकरण गर्नुभयो।'
समितिले कम्तीमा हजार वर्ष टिक्ने ढुंगा उपहार मागेका थिए। नेपाल सरकारले निर्णय गरेपछि आवश्यक प्रक्रिया पुर्याएर पठाएको केसीले बताए। यी २ ढुंगा भारत पठाउँदा बेनी नगरपालिकालाई तिर्नुपर्ने ढुंगागिटी-बालुवाको अन्तर्गतको कर भने म्याग्दी उद्योग वाणिज्य संघले तिरेको छ।
'२ वटा ढुंगाको मूल्य निर्धारण गर्दा ५ हजार ८०७ रूपैयाँ भएको थियो,' मेयर केसीले भने, 'त्यसको कर वापत लाग्ने ८५७ रूपैयाँ उद्योग वाणिज्य संघले तिरिदियो।'
राम मन्दिर निर्माण समितिसँग बसेर नेपाली प्रतिनिधि मण्डलले कालीगण्डकी नदी र यसको धार्मिक महत्वबारे जानकारी गराएका थिए। हिन्दु धर्मावलम्बीले रामलाई विष्णुको अवतार मान्छन्। उनका ४ अवतारमध्ये पिपल, कुश, तुलसी र शालिग्राम मानिन्छ। रामको मूर्ति शालिग्राम पाइने कालीगण्डकीको ढुंगाबाट बनाउन उपयुक्त भएकाले समितिले यहाँबाट शिला लैजान चाहेको मेयर केसीले बताए।
'नेपालका प्रायः मन्दिरमा भारतबाट ल्याइएका मूर्ति छन्। अयोध्याको मन्दिरमा राखिने रामको मूर्ति कालीगण्डकीको शिलाबाट बन्दैछ,' उनले भने, 'यसले नेपालको धार्मिक पर्यटक बढाउन टेवा पुर्याउनेछ।'
मूर्तिमा 'नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिलाबाट निर्मित' भनेर लेख्ने सहमति भएको पनि उनले बताए।
यी ढुंगा छान्ने बेलामा सयभन्दा धेरै ढुंगा अवलोकन गरेर गुणस्तर परीक्षण गरिएको अभियन्ता चालिसेले बताए। भूगर्भविदको टोलीले विभिन्न परीक्षण गरेर बलियो ढुंगा छानिएको हो।
अयोध्यामा रामको बालस्वरूप बनाउने विषयमा ५ वटा शिलापत्र पनि बनाइएको छ। त्यसमध्ये एउटा गण्डकी प्रेदश संग्रहालय पोखरा, अर्को काठमाडौं, एउटा जनकपुर र एउटा राम मन्दिरमा राखिने चालिसेले बताए।
भारत सरकारले अयोध्यामा राम मन्दिर बनेपछि विश्वभरका हिन्दु धर्मावलम्बीको केन्द्र बन्ने र दैनिक एक लाख पर्यटक आउने अनुमान गरेको छ। कालीगण्डकीबाट लगिएको ढुंगाबाट मुख्य मूर्ति बन्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने चालिसेको विश्वास छ।
कालीगण्डकीको ढुंगा सहित जनकपुरबाट अष्ट धातुले बनेको धनुष पनि पठाउने तयारी छ। आफ्नी छोरी सीतासँग बिहे गर्न चाहनेले धनुष उठाउनुपर्ने शर्त राजा जनकले राखेका हुन्छन्। रामले भाँचेर ३ टुक्रा पारिदिए पछि सीतासँग बिहे भएको प्रसंग रामायणमा छ। यसकै आधारमा अयोध्यामा राख्ने धनुष पठाउन खोजिएको चालिसेले बताए।
ढुंगा लैजान अयोध्याबाट राम मन्दिर निर्माण समितिका महासचिव राजेन्द्रसिंह पंकज पनि गलेश्वर पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वाकांक्षी परियोजनाका रूपमा अयोध्याको राम मन्दिरलाई अघि सारेका छन्। उक्त स्थानमा मुगल सम्राटले सन् १५२८ मा मस्जिद बनाएका थिए। उक्त मस्जिद बाबरी मस्जिदका रूपमा प्रख्यात थियो जहाँ मुस्लिम समुदायले प्रार्थना गर्थे। सन् १८५९ मा तत्कालीन ब्रिटिस शासकले मस्जिदमा मुस्लिम समुदायले प्रार्थना र बाहिर हिन्दु समुदायले पूजा गर्ने व्यवस्था मिलाएका थिए।
भारतका मुस्लिम समुदाय र हिन्दु समुदायवीच उक्त स्थान आ-आफ्ना धर्मका केन्द्रका रूपमा विवाद बढ्दै गयो। सन् १९९२ मा हाल भारतका प्रधानमन्त्री रहेका मोदीको पार्टी भारतीय जनता पार्टी, विश्व हिन्दु परिषद, शिवसेना, आरएसएस लगायतले मस्जिदमा आक्रमण गरे। त्यति बेला भएको हिन्दु-मुस्लिम दंगामा २ हजार बढी मानिसले ज्यान गुमाएका थिए। उक्त घटनापछि भारतीय जनता पार्टीसहित कट्टर हिन्दुवादीले उक्त स्थानमा रामको मन्दिर बनाउन माग गर्दै आएका थिए।
बाबरी मस्जिद भएको ठाउँ हिन्दु र मुस्लिम समुदायले दाबी गरेपछि उक्त विवाद भारतका विभिन्न अदालत हुँदै सर्वोच्च अदालत पुगेको थियो। लगातार ४० दिनको सुनुवाइ पछि भारतको सर्वोच्च अदालतले २०१९ नोभेम्बर ९ मा उक्त स्थानमा राम मन्दिर बनाउन पाउनेगरी फैसला सुनाएको थियो। मस्जिद बनाउन अयोध्याकै अर्को ठाउँमा जग्गा उपलब्ध गराउन सर्वोच्च अदालतले भारत सरकारलाई आदेश दिएको थियो। अदालतले उक्त आदेश दिएपछि प्रधानमन्त्री मोदीले उक्त स्थानमा राम मन्दिर बनाउने याजना अघि बढाएका हुन्।