Kath khabar
सूर्यविनायक-धुलिखेल सडकखण्डको निर्माण ३ वर्षमा सक्ने सम्झौता

 

                                        काठमाडौं, माघ १५ ।  अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड ३ वर्षमा सक्ने सम्झौता गरिएको छ।

सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड ४ लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो। 

कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ छ। 

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक-साँगा सडकखण्ड भने ७-५ किमी छ। उक्त खण्डको ठेक्का ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ। यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नुपर्ने अधिकारीले बताए। 

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार गर्न लागिएको हो। यसका लागि आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो। उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको हो। 

यस्तै पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरका ३ पुल, जगाती र महादेव खोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ। यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ। 

सो डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि २ किलोमिटर सडक जाने-आउने लेन तल-माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले देखाएको छ। सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो। 

आयोजना प्रमुख रवीन्द्र लाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ। गाडी चल्ने मुख्य ४ लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित २ मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ। साथै बीचमा ३ मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ।

काठमाडौंबाट धुलिखेल तर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने, आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब १ अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ। काभ्रेको पूर्वी-दक्षिणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौं-पूर्वी तराई गर्छन्। 

उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका विभिन्न ठाउँबाट आवत जावतका लागि यही सडक प्रयोग हुन्छ। आयोजनाले सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्ड भित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। डिभिजन सडक कार्यालय भक्तपुरले २०७६ सालमा सडक निर्माणस्थल खाली गराउन रूख कटान लगायतका काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो। 

सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर गरिएको आयोजनाका डिभिजन इन्जिनियर शम्भुप्रसाद आचार्यले बताए। सडक विभागले केही वर्षदेखि धुलिखेल देखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो। उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने नभए सरकारले आफैंले निर्माण गर्ने जनाउँदै आएको थियो। 

आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल-भक्तपुरको सवारीचाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्ने छ। संघीय राजधानीबाट बागमती प्रदेश अन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ। यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश नं १ र मधेस प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन्। 

सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ। हाल कोटेश्वरबाट लामा दूरीका सवारी साधनमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ। 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update