काठमाडौं, माघ १५ । नेपाली नागरिकता लिन आइतबार जिल्ला प्रशासन कार्यालय पुग्नुभएका रवि लामिछानेको नागरिकता पुनःप्राप्तिको प्रक्रिया सुरु भएको छ ।
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने वित्तिकै उहाँको नागरिकता पुन: प्राप्तिको प्रक्रिया अघि बढ्नेछ । नागरिकता पुनःप्राप्तिको प्रक्रिया सकिएपछि लामिछानेले आजै निर्वाचन आयोग गएर पार्टी सभापति पदको पुर्नबहालीका लागि प्रक्रिया अघि बढाउनुहुने कानुन व्यवसायी यज्ञमणि न्यौपानेले बताउनुभएको छ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानूनबमोजिम प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उहाँको मन्त्री तथा सांसद पद खारेज गरेको थियो ।
लामिछाने पुग्नुअघि नै जिल्ला प्रशासन कार्यालयमा भीड लागेकोले बाक्लोरुपमा प्रहरीको परिचालन भएको छ ।