Kath khabar
नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही

 

                                        काठमाडौं, माघ १५ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल सहितका स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्यूनतम पारिश्रमिक पनि नदिइ नर्सहरूलाई काममा लगाउने कुरा मान्य नहुने बताउँदै उहाँले त्यस्ता स्वास्थ्य संस्थाहरू माथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने चेतावनी दिनुभएको हो ।

आज आइतवार काठमाण्डौमा आयोजित नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफूले मासिक ८-१० हजार रुपैयाँमा निजी क्षेत्रमा नर्सहरूले काम गर्नुपर्ने कहालीलाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल अनुगमन गर्ने घोषणा समेत गर्नुभयो । उहाँले नर्सहरूलाई "अनलाइन पेमेन्ट" को व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पताल सहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘नर्सहरूले मासिक ८ हजार, १० हजार रुपैयाँमा निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था भयावह र कहालीलाग्दो अवस्था हो । म यहीँबाट भन्न चाहन्छु, न्यूनतम पारिश्रमिक पनि नदिइकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । त्यस्ता संस्थाहरूको मन्त्रालयबाट अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ ।’

मन्त्री गिरीले कोरोनाकालमा नर्सहरूले आफूलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंशा गर्दै उनीहरूलाई आवश्यक तलब, भत्ता सहितको व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update