धनुषा, माघ १७ । हिरासतबाट ६ जना थुनुवा फरार भएको घट्नामा धनुषाको सखुवा महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयका ३ जना प्रहरी जवानलाई निलम्वन गरिएको छ। यसैगरी २५ जनाको टिमलाई नै जिल्ला तानिएको छ ।
इन्सपेक्टर बेचन यादव सहित २५ जनाको टिमलाई नै सोमबार जिल्ला तानिएको जनाईएको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले सई मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् ।
उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।