काठमाडौं, माघ १७ । आज माघ १७ गते राजा महेन्द्रको स्वर्गारोहण भएको पनि ५१ वर्ष पूरा भयो । विभिन्न शंका उपशंका रहे पनि यो मृत्युको कुनै पनि छानवीन नै नगरीकन रहस्य मै छोडियो । स्वयम् नव राजा विरेन्द्र पनि यो अपत्यारिलो देहावसानमा केही शंका गरिरहेका थिए । तर पछि चुपचाप हृदयघाटबाटै मृत्यु भएको स्विकार गरे ।
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव १ महिनाको लागि तय गरिएको थियो । तर लामो समयसम्म दियालो बंगलामा बस्न पाएनन् । अचानक माघ १६ गतेको राती हृदयघाटका कारणले राती ११ बजे निधन भयो । तर भोलिपल्ट बिहान ३:४५ मा चिकित्सकबाट देहावसानको घोषणा भयो । तर यो मृत्यु रहस्यमय रह्यो । धेरैले धेरै किसिमका तर्कहरु प्रस्तुत गरे ।
आषाढ कृष्ण पक्ष नवमीको दिन बिसं १९७७ जेठ ३० गते शुक्रवार नारायणहिटी राजदरवारमा कान्ती राज्यलक्ष्मीको कोखबाट जन्मनु भएका युवराज महेन्द्रको दुबै आमाहरु भारत सीतापुरबाट बिबाह गरेर ल्याइएको हुँदा राणा परिवारसंग धेरै निकटता थिएन । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । युवराजको बाल्यकालमा दरवार भित्र नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहिर पनि सम्पर्क हुदैनथ्यो ।
दरवारमा शिक्षकको रुपमा किर्तिराज दलीले दरवारमै शिक्षा दिन थालेका थिए । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए । अंग्रेजीका सुविख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो । पण्डित दधिराम पनि दरवारमा पढाउन आइपुगे पछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाइयो । बिस्तारै संगीत तर्फ पनि रुचि देखाउन थाले पछि भुपालमान सिंहलाई शास्त्रिय संगीत सिकाउन लगाइयो । यसरी दरवार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुदै गए ।
पञ्चतन्त्रले जीवनलाई २ विपरित किसिमले बुझ्न सिकायो । कसरी एकअर्कोमा सन्तुलन राख्न सकिन्छ भने बुझे । साथै जीवनमा बिनम्र बन्न पनि सिकायो । कणिक नीतिका कथाहरु र शिक्षाहरुलाई बाल्यकालमा ध्यानसंग पढेका युवराजले आफ्नो राज्यकालमा राजनैतिक रुपले कणिक नीतिका नियमहरुको उपयोग गरेका थिए । कणिक धृतराष्ट्रका प्रमुख मन्त्री थिए, कणिकको सल्लाहमा नै धृतराष्ट्रले राज्य सञ्चालन गर्दथे । पाण्डवसंगको युद्धमा पनि कौरवहरुले कणिकको सल्लाह नै लिने गरेका थिए । यसरी धृतराष्ट्रलाई कणिकले दिने सल्लाहलाई कणिक नीति भन्ने गरिन्छ । यस नीतिमा राजनीतिमा बिरोधीसंग कसरी विजय गर्ने भन्ने सिकाएको छ । पछि राजा महेन्द्रले पनि कणिक नीतिको आधारमा नै राज्य सञ्चालन गरेका थिए ।
घोडचढीमा सिपालु रहेका युवराजको लागी सानो घोडा नै राखिएको थियो । राजा महेन्द्र युवराज छदै पनि उनको स्वभाव अलि भिन्न थियो । यस्तैमा युवराज महेन्द्र विरामी भएपछि दरवारमा सुसारेको ब्यवस्था पनि गराइएको थियो । दरवारमा सुसारेको रुपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो । दरवार भित्र नै रहने हुँदा रम्बा गुरुङसंग निकट हुँदा गर्भवती बनाउन पुगे । दरवारमा जस्तो परिस्थिती भए पनि भ्रुणहत्या गरिदैनथ्यो ।
यसैले गर्दा रम्बालाई दरवारले ल्याइतेको रुपमा स्विकार गरियो । केवल १३ वर्षको उमेरमा नै महेन्द्र बाबु बने । रम्बाको नाम दरवारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको ब्यबस्था दरवारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने बञ्चित नै राखेको थियो । गीताबाट जन्मिएका छोरा रवीन्द्र, बुबा जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने खासै हेरेनन् । दरवारले ४ जना नोकर सहित बार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यो खर्चमा कटौती गरियो ।
यसरी दरवार भित्रकी सेविकासंग नै लसपस भेटिए पछि युवराजको बिबाह श्री ३ जुद्धशम्शेरको नातिनी तथा हरिशम्शेरको छोरी इन्द्र राज्य लक्ष्मीसंग बि.सं. १९९७ बैशाख २६ गते गराइयो । बिबाहको १० वर्ष पछि दिल्ली पलायन हुनु केवल २ महिना अगाडी युवराज धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो ।
युवराज्ञी इन्द्रसंगको विवाह पछि युवराज महेन्द्रले युवराज्ञी इन्द्रको सम्झनामा गोकर्णको जंगल भित्र सम्झना सदन बनाएका थिए । यदाकदा फुर्सद पायो भने सम्झना सदन पुग्दथे । युवराजले यसलाई शान्तीको आश्रयस्थल (Haven of Peace) भन्दथे । यहि बेलाबेला साली रञ्जना पनि दिदीको साथ पुग्दथे । अचानक दिदी इन्द्रको देहावसान पछि युवराज साली रञ्जनाको नजिक रम्न थाले । बाबुसंग निहु खोज्दै साली रञ्जनासंग विवाह गरिदिन जिद गर्न थाले । बाबुले पहिलो विवाह तत्कालिन राणा श्री ३ जुद्धको नातिनीसंग गर्न बाध्य भए पनि देशमा प्रजातन्त्र आइसकेर राणाहरु अधिकार विहिन भइसकेको हुँदा राणा परिवारसंग दोश्रो विवाह नगराउने ठानिसकेका थिए ।
भोलि राजा बन्नुपर्ने युवराजको लागि भारतकै कुनै रियासतकी राजकुमारीसंग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन । छोराको जिद्दी पछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालयलाई राजगद्दीका हकदारको रुपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए । यता युवराज महेन्द्र पनि रञ्जनासंगको प्रेममा चुर्लुम्म डुबेर युवराजको पदबाट राजिनामा दिइ साधारण जनता सरह रञ्जनासंग नै जीवन बिताउने ठानिसकेका थिए । बेलायतमा पनि राजा एडवर्ड आठौले प्रेमिकाका लागि राज्य त्यागेको चर्चा संसार भर फैलिसकेको थियो । यसर्थ युवराज महेन्द्रका लागि पनि यस्तो सोच आउनु कुनै नौलो थिएन । तर बिचैमा कांग्रेसका नेता विपीले राजा र युवराज दुबैलाई सम्झाएर राजा त्रिभुवनलाई रञ्जना राणासंग विवाहको लागि मनाउन सफल भए ।
यसरी युवराजको दोश्रो विवाहमा राजी भए पनि पछि आउन सक्ने विवादको आकलन गरि दोश्रो विवाह पछि सन्तान पाउन नपाउने शर्त राखे । जसको लागि भनिन्छ विवाह पूर्व नै पाठेघर फ्याक्न लगाए । यो के कति सत्य हो भन्ने कुनै आधार नभए पनि विवाह पछि सन्तान नजन्माउने शर्त भने रञ्जनाले स्विकार गरेका थिए । यसरी इन्द्र राज्य लक्ष्मीको देहावसानको २ वर्ष पछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)संग बिबाह गरे । राजा त्रिभुवन यस बिबाहको लागी भित्र देखी नै खुशी थिएनन् । तसर्थ यस विवाहमा बाबु राजा त्रिभुवन सरिक भएनन् । युवराज महेन्द्रले यो विवाह साथीसंगी र भाइहरुको साथ बागदरवारबाट रत्नलाई सिधै नागार्जुन दरवारमा लगेका थिए । नारायणहिटी दरवारमा शुरुमा स्विकार गरिएन । पछि युवराज्ञी रत्नले दिदीका सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काए ।
साभार:सुनिल उलक